भारतीय पक्षबाट अहिलेसम्म ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग अतिक्रमण

सीमा अतिक्रमणप्रति सरकार उदासीन

पत्रपत्रिकाबाट

सोमबार, २९ बैशाख २०७७, ०६ : ५९
भारतीय पक्षबाट अहिलेसम्म  ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग अतिक्रमण

काठमाडौँ । भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणका घटना बर्सेनि सतहमा आउने गरे पनि अतिक्रमित भूभाग फिर्ता ल्याउन र सीमा सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गर्नमा सरकार उदासीन देखिएको छ । सीमा क्षेत्रमा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गर्नेदेखि सीमा स्तम्भ नै गायव बनाउनेसम्मका काममा भारतीयको संलग्नता पटकपटक दोहोरिँदै आएको छ ।

दक्षिणतर्फको १ हजार ८ सय ८० किमि सीमा क्षेत्रमा करिब ६० हजार ६ सय २७ हेक्टर नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको विवरण सरकारसँगै छ । भारतले १ हजार ८ सय २२ वटा सीमा स्तम्भ गायब पारेको र ९ सय ६१ स्थानमा सीमा अतिक्रमण गरेको गोप्य रिपोर्ट सशस्त्र प्रहरी बलले गत कात्तिकमै गृह मन्त्रालयमा बुझाएको थियो । सीमा स्तम्भहरूको नक्सांकन र त्यसलाई मिचेर भारतीयहरूले नेपाली भूमिमा आई गरेका गतिविधिका आधारमा उक्त रिपोर्ट तयार पारिएको हो ।

सीमा सुरक्षा र सीमा क्षेत्रका गतिविधिमाथि सूक्ष्म निगरानी राख्ने मुख्य दायित्व रहेको सशस्त्रले बुझाएको उक्त रिपोर्ट सरकारले सार्वजनिक गरेको छैन ।

हाल भारततर्फ १ सय २० स्थानमा बोर्डर अब्जर्भेसन पोस्ट’ (बीओपी) तैनाथ छन् । तिनमा ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । खुला सीमा सुरक्षामा यो जनशक्ति पर्याप्त नरहेको जानकारहरू बताउँछन् । । नेपालका एक बीओपीबाट अर्कोसम्मको दूरी १२ देखि १८ किलोमिटरसम्म छ । भारतले भने नेपालतर्फका सीमा नाकामा हरेक २ किलोमिटरमा सीमा सुरक्षा बल (एसएसबी)को फौज खटाएको छ । भारतले नेपालतर्फ ५ सय ३० बीओपी राखेको छ ।

नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएका स्थानमा सबैभन्दा बढी अतिक्रमणका घटना हुने गरेको सशस्त्रका अधिकारीहरुले बताए । २०७६ कात्तिकमा भारतले नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेपछि सरकारले सीमा सुरक्षाका लागि बीओपीको संख्या १ सय ७ बाट बढाएर २ सय २० पुर्‍याउने निर्णय गरेको थियो । १ सय १३ बीओपी थप्न सरकारले स्वीकृति दिए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । ६ महिनाको अवधिमा चीनतर्फ संखुवासभाको किमाथांका नाकामा एकसहित १३ वटा मात्रै बीओपी स्थापना गरियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस