दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारमा आज बिहान एउटा चितुवा खोरमा परेको छ । चितुवाको आतङ्क बढेपछि राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वन कार्यालयको सहयोगमा स्थानीयवासीले १५ दिन अगाडि खोर राखेका थिए ।
बाख्रासहितको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । ‘खोरमा परेको चितुवा दमौली ल्याउँदैछाँ, यसलाई कहाँ लैजाने भन्नेबारेमा छलफल हुँदैछ’, बरालले भन्नुभयो । शेराटारका स्थानीयवासी रामप्रसाद भट्टराईले खोर राखेको १५ दिनमा चितुवा नियन्त्रणमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार दिनदिनै उक्त खोरमा बाख्रा राख्ने गरिएको थियो । ‘चितुवा आतङ्क बढेपछि वन कार्यालयको सहयोगमा खोर राखेका थियौँ’, उहाँले भन्नुभयो ।
तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा नियन्त्रणमा आइसकेको छ ।
वैशाख ३ गते मात्रै बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा मृतावस्थामा चितुवा फेला परेको थियो । तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु