स्थानीय र प्रहरीकै मिलेमतोमा तस्करी, लखेटिए एक हवल्दार

आइतबार, २८ बैशाख २०७७, ०८ : ०९
स्थानीय र प्रहरीकै मिलेमतोमा तस्करी, लखेटिए एक हवल्दार

सप्तरी ।  लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।

आवत जावत, कामकाज सवै ठप्प छन् । दैनिक जिवनयापन कठिन बन्न पुगेको अवस्था छ । छिमेकी भारतसँग जोडिएका सीमानाकाहरु पनि ठप्प रहेको अवस्था छ । सीमा नाकाहरुमा दुवै तर्फ निकै संख्यामा नेपाली तथा भारतीयहरु आ–आफ्नो मुलुक आफ्नो घर फर्किन लकडाउन खुल्ने प्रतिक्षामा छन् । यद्यपी तस्करहरुका लागि सीमा वारपार गर्न भने कुनै असहजता देखिएको छैन ।

सप्तरीको छिन्नमस्ता, तिलाठी, रम्पुरा मल्हनिया, भारदह, हनुमाननगर, गोबरगाढा, रामनगर कोदरकट्टी, बोदेवर्साईन, बलान विहिलु लगायतका सीमा क्षेत्रहरुमा प्रहरीकै सक्रियतामा खुलेआम तस्करी भईरहेको अवस्था छ । लकडाउन पालना गराउने नाममा सर्वसाधरणसँग निकै कडाईका साथ प्रस्तुत हुने सुरक्षाकर्मीहरु तस्करहरुका लागि आफै लाईन क्लियर गर्ने लगायतका काम गर्दै आएको सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । यस्तो कार्यमा नेपाल प्रहरीसँगै सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीको संलग्नता रहेको छ । पारी भारत तर्फ तस्करहरुले भारतीय एसएसबीहरुलाई मिलाएका हुन्छन् ।

लकडाउनको मौका छोपी सप्तरीका सीमानाकाहरुमा तस्करीका समाचारहरु प्रकाशित प्रशारित भईरहँदा जिल्लाका जिम्मेवार प्रशासनिक एवम् सुरक्षा निकायका प्रमुखहरुले यसलाई नकार्दै आएका थिए । यद्यपी शुक्रबार राति छिन्नमस्ता गाउँपालिका–३ स्थित मौहुवा गाउँ नजिकै सीमा क्षेत्रमा तस्करहरुको एक समूहले प्रदेश–२ स्थित डिआईजी कार्यालयबाट सादा पोशाकमा खटेका एक जना हवलदारलाई लखेटेको घटना सार्वजनिक भएपछि सप्तरी प्रहरीको तस्करहरुसँगको साँठगाँठका तथ्यहरु सार्वजनिक भएको हो ।

स्थानीयहरुका अनुसार शुक्रबार राति करिब साढे ११ बजे सादा पोशाकमा मोटरसाइकलमा आएका एक जना प्रहरीले झण्डै २०र२२ वटा साईकलमा लोड गरेर भारत तर्फ लग्दै गरेको मदिरा समातेका थिए । उनले स्थानीय छिन्नमस्ता प्रहरी चौकिमा पटक पटक फोन गर्दा पनि स्थानीय प्रहरीले कुनै समन्वय नगरेको तथा तस्करहरुले ती एक्लो हवलदारमाथि आक्रमण गर्ने प्रयास गरेपछि गाउँलेहरुको सहयोगमा जसोतसो उनी ज्यान जोगाएर भागेका थिए । निकै वेरसम्म स्थानीय प्रहरी नआएपछि डिआईजी कार्यालयका ती हवलदार आफ्नो मोटरसाइकल समेत छाडेर ज्यान जोगाई भाग्न बाध्य भएका थिए ।

इलाका प्रहरी कार्यालय छिन्नमस्ताका प्रमुख प्रहरी साहायक निरीक्षक कल्याण आले मगरले आफूले ढिलो जानकारी पाएको तथा जानकारी पाए लगत्तै त्यहाँ पुग्दा डिआईजी कार्यालयका हवलदरा छडेर आएको मोटरसाइकल मात्रै त्यहाँ फेला परेको प्रतिक्रिया जनाए । सीमानाका भएर मदिरा तस्करी भईरहेको वारे आफूलाई कुनै जानकारी नरहेको मगरको भनाई छ । ईलाका प्रहरी कार्यालय छिन्नमस्ताका प्रहरी साहायक निरीक्षकले डिआईजी कार्यालयबाट आएका हवलदारको मोटरसाइकल फेला परेको स्विकारे पनि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले यसबारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया जनाए ।

यता प्रदेश–२का प्रहरी प्रमुख डिआईजी धिरप्रताप सिंहले सीमानाकाहरुको अवस्था बारे अनुगमनमा निम्ती आफ्नो कार्यालयमा एक जनालाई शुक्रबार राति सो क्षेत्रमा खटाईएको पुष्टि गरेका छन् । अनुगमनका क्रममा रक्सी तस्करहरुलाई पक्राउ गरेपनि स्थानीय प्रहरी समयमा नआउँदा उनी समस्यामा परेको समेत डिआईजी सिंहको भनाई छ । घटनाबारे छानबीन थालिएको उनले बताए । 

स्थानीयहरुका अनुसार छिन्नमस्ता क्षेत्रमा अचेल रातिको समयमा दैनिक जसो ठूलो परिमाणमा मदिरा नेपालबाट भारत जाने गरेको छ भने भारतबाट खैनि, गुटखा, रजनिगंधा, जर्दा, लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ । मदिरा भारत भित्र्याउने वापत स्थानीय प्रहरीले तस्करहरुसँग प्रति कार्टुनको ५ सयदेखि ७ सय रुपैयाँ लिने गरेका छन् । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस