संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार) बाट प्रारम्भ हुँदै

जेठ २ मा नीति तथा कार्यक्रम

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०७ : ३९
संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार) बाट प्रारम्भ हुँदै

file photo

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।

राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’’

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।

जेठ २ मा नीति तथा कार्यक्रम
यसैबीच संसद सचिवालयले अधिवेशनको प्रारम्भसँगै बजेट पारितसम्मको तालिका प्रस्ताव गरेको छ । राष्ट्रिय सभाले सम्भावित कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रतिनिधि सभाले कार्यतालिका सार्वजनिक गरेको छैन । सम्भावित कार्यतालिका अनुसार वैशाख २८ गतेबाट पूर्वबजेट छलफल गर्ने तयारी छ । दुई दिनसम्म छलफल चलाउने सचिवालयको तयारी छ । अघिल्लो वर्ष पूर्वबजेट छलफल भएको थिएन । योपटक केही दिन कटौती गरी छलफल गर्न लागिएको हो ।

यस्तै, जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सचिवालयले गरेको छ । संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गतेबाट छलफल प्रारम्भ गर्ने तयारी छ । बजेट प्रस्तुत नहुँदासम्म सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत लगायतका कार्यसूची रहनेछन् । जेठ १५ गते भने सरकारका तर्फबाट वार्षिक बजेट प्रस्तुत हुनेछ ।