काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् । आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।
कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ ।
तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् । सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ बैशाख २०७७, ०७ : १८
लेखकबाट थप