नेपालगन्जमा ६० किट मात्रै , संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ अझै भएन

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०६ : ४१
नेपालगन्जमा ६० किट मात्रै , संक्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ अझै भएन

फाईल फोटो

नेपालगन्‍ज । समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।

प्रयोगशाला रहेको भेरी अस्पतालका अनुसार बिहीबार साँझसम्म ६० थान मात्रै किट बाँकी छन् । शुक्रबार थप किट उपलब्ध नभए स्वाब संकलन र परीक्षण रोकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि किट पठाएको थियो । त्यसयता थप किट उपलब्ध गराउन पत्राचार गरिसकेको अस्पतालले जनाएको छ । हालसम्म नेपालगन्ज–८ का २२ र नेपालगन्ज–५ का एक जनामा संक्रमण पुष्टि भएको छ । अहिले संक्रमितको सम्पर्कमा आएका थप व्यक्ति पहिचान गरेर स्वाब संकलन भइरहेको छ ।

अस्पतालमा १ सय ६० सेट पीपीई र ५ सय वटा एन–९५ मास्क मात्रै मौज्दात छ । खजुरास्थित कोरोना अस्पतालमा संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी तथा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पनि आवश्यक भएकाले सुरक्षा सामग्रीको समेत अभाव रहेको भेरीका चिकित्सकले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस