मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारियो

रासस

विहीबार, २५ बैशाख २०७७, ०९ : ३९
मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारियो

तनहुँ । तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।

स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो ।
सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उहाँले बताउनुभयो ।  घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताउनुभयो ।

केही समयअघि सोही वडाको लोहीपाखामा राखेको खोरमा बुधबार बिहान पोथी चितुवा मृतावस्थामा फेला परेको थियो । करिब पाँच÷छ वर्षको देखिने २५÷३० किलोग्राम तौल भएको चितुवा मृत फेला परेको हो । चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै  सात जना घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको १६ स्थानमा १६ वटा खोर निर्माण गरी पासो थाप्दै आएको छ । रासस)

प्रतिक्रिया दिनुहोस