स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत बढी नाफा लिँदै कालोबजारी

पत्रपत्रिकाबाट

विहीबार, २५ बैशाख २०७७, ०७ : ४७
स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत बढी नाफा लिँदै कालोबजारी

फाईल फोटो

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले चरम कालोबजारी गरिरहेका पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनमा आँखा इन्टरप्राइजेज कम्पनीले स्वास्थ्य सामग्रीमा ३४ प्रतिशतदेखि ५७ प्रतिशत बढी नाफा लिएर बिक्री वितरण गरेको पाएको हो । विभागले उपभोक्ताबाट कालोबजारी गरेको गुनासो आएपछि कम्पनीमा अनुगमन गरेको थियो । विभागले सो कम्पनी बालाजुमा दर्ता भए पनि बबरमहलमा रहेको ई ज्ञानकुञ्ज एजुकेसन सिस्टम प्रालिको कार्यालयको कोठामा राखी बिक्री विरतण गर्दै आएको बताए । सो कम्पनीले सर्जिकल पीपीई, थर्मल गन, मास्क, जुत्तालगायत स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने गरेको विभागले जनाएको छ ।

बजारमा स्वास्थ्य सामग्री अभाव भएको मौका पारी कम्पनीले विभिन्न अस्पताल र सम्पर्कमा आएका व्यक्तिसँग ३४ देखि ५७ प्रतिशतसम्म बढी नाफा लिएर ठगी गर्दै आएको बजार अनुगमनमा देखिएको छ

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा स्वास्थ्य सामग्री अभावको फाइदा लिँदै कम्पनीले विभिन्न अस्पताल र सम्र्पकमा आएका व्यक्तिसँग स्वास्थ्य सामग्रीमा ३४ देखि ५७ प्रतिशत बढी नाफा लिएर ठग्दै आएको बताए । उनले खरिद बिक्रीसम्बन्धी कागजात हेर्दा कानुनले तोकेको भन्दा धेरै मूल्य लिई बिक्री गरेको पाएपछि कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम कारबाहीका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा पठाएको बताए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस