कोरोनाविरुद्धको लडाइँ जितेर ६ जना डिस्चार्ज

बुधबार, २४ बैशाख २०७७, ११ : १०
कोरोनाविरुद्धको लडाइँ जितेर ६ जना डिस्चार्ज

विराटनगर ।  कोरोना भाइरस संक्रमण भएपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक कोरोलाई परास्त गरि डिस्चार्ज भएर फर्केका छन् । 

पछिल्लो पटक तिन पटक गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई बिदाइ गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएका सबैलाई विराटनगरस्थित मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ जना डिस्चार्जभएसँगै अब उपचारमा २५ जना बाँकी छन् ।कोरोनालाई जितेर अहिले सम्म  १६ जना निको भएका छन् । मुलुकमा अहिले सम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस