खाली ट्रक जाँच गर्दा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई जना पक्राउ

बुधबार, २४ बैशाख २०७७, ०८ : ०९
खाली ट्रक जाँच गर्दा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई जना पक्राउ

मोरङ  ।  अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विराटनगरको एकीकृत जाँच चौकीमा गाडी चेक गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो। 

भारतबाट नेपाल आएको खाली ट्रकलाई मंगलबार एकीकृत जाँच चौकीमा सशस्त्र प्रहरी बलले जाँच गर्ने क्रममा १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। ‘प्रहरीले एकीकृत जाँच चौकीमा ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणको भारतीय रुपैयाँ बरमाद गरेको हो,’ सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्र थापाले भने, ‘रुपैयाँसँग ट्रक चालकसहित २ जना मान्छे पक्राउ परेको र कहाँबाट ल्याएको कसका लागि ल्याइएको अहिले थाहा छैन। घटनाको थप अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’  

भारतीय डब्ल्युबी ७३ इ ७६३५ नम्बरको ट्रकमा नेपाल खाली आएको थियो। त्यसलाई चेक गर्ने क्रममा बोरालाई बाहिरबाट कार्टुनले प्याक गरेर लुकाएर ल्याउँदै गर्दा २१ हजार ९ सय ५५ थान ५ सय दरको र अन्य खुद्रा भारतीय रुपैयाँ प्रहरीले फेला परेको जनाएको छ। 

भारत दार्जिलिङको सिलिगुढी गंगानगर–५ का २४ वर्षीय रविकुमार शर्मा चालक र भारत विहार मजहपुर रोउतिमयर–१२ का १८ वर्षीय पप्पु कुमारलाई प्रहरीले अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार भारतको सुपौलबाट ट्रक नेपाल ‘पेम्पस’ लिन आएकोसम्म खुलेको र रकम कसको हो भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट नखुलेको बताइएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस