क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेपछि...

सोमबार, २२ बैशाख २०७७, १७ : ०१
क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेपछि...

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेले दिनहुँ रक्सी र मासुभात मागेको समाचार बाहिर आएको छ । 

कोभिड–१९ नोवल कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा राख्न कति गाह्रो छ भन्ने यसबाट पुष्टि हुन्छ । 

नगरपालिकाले ४७ वटा बेड बनाएको छ । प्रत्येक वडामा ३ देखि ५ वटासम्म बेड पनि तयार छन् ।

हलेसी तुवाचुङमा दुई हप्ता क्वारेन्टाइनमा बसेका पहिलो लटमा ९ र दोस्रो लटमा १४ जना र्‍यापिड डाइनोनेस्टिक किट टेस्ट आरडीटी नेगेटिभ देखिएपछि घर फर्किसकेका छन् । अहिले १३ जना क्वारेन्टाइनमा छन् ।

त्यहाँ बस्नेहरूका लागि नगरपालिकाले साँझ बिहान दाल–भात, तरकारी र चिया, खाजाको व्यवस्था गरेको छ । हप्तामा एक दिन मासुको पनि व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरूले माग गरेपछि हप्तामा दुई पटक मासुको व्यवस्था पनि भयो । तर, यो माग पूरा भएपछि दिनहुँ मासु–भात, रक्सी र वाईफाईको माग आएको नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण सर्वदलीय सर्वपक्षीय समन्वय समितिका एक सदस्यले जानकारी दिए ।

‘दैनिक मासु दिन बजेटले पुग्दैन, रक्सी त झन नियमअनुसार नै दिन मिल्दैन भनेको, तोडफोडमै उत्रिए’ समन्वय समितिका ती सदस्य भन्छन्, ‘सम्झाई बुझाई त गर्‍यौं, फेरि बिरामी परेको बाहाना गरेर अर्को आपतमा पारे ।’

यो नगरपालिकाले लकडाउनका कारण आपतमा परेका १ हजार ३६९ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको थियो । उद्धार गर्नुअघि नै नगरपालिकाले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका १० बुँदे ‘घर फिर्ती कबुलियतनामा’ गराएको थियो । तर, अनुगमनका क्रममा कतिपयले होम क्वारेन्टाइनको नियम उल्लङ्घन गरे ।

नगरवासीको उद्धारमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । तर, केन्द्रले भने अहिलेसम्म केही पनि सहयोग गरेको छैन ।

जिल्ला सदरमुकाम दिक्तेल बजारबाट करिब ४५ किलोमिटर पश्चिममा रहेको हलेसी तुवाचुङ नगरपालिका सुनकोसी किनारमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस