माधव नेपालले भने : ‘प्रचण्डसँग कुनै असमझदारी छैन’

सोमबार, २२ बैशाख २०७७, ०८ : ५८
माधव नेपालले भने : ‘प्रचण्डसँग कुनै असमझदारी छैन’

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष प्रचण्डसँग कुनै असमझदारी नबढेको बताएका छन् । आइतबार अध्यक्ष प्रचण्डसँग ललितपुरको बालकुमारीस्थित सांसद कृष्णलाल महर्जनको निवासमा झण्डै दुई घण्टा भेट गरेर आफ्नै निवास छेउमा रहेको नेपाल वन पैदावर ब्यवसायी महासंघको कार्यालयमा आफु निकट केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुसँगको भेटमा नेपालले त्यस्तो बताएका हन् ।

शनिबारको सचिवालय बैठकमा एकाएक नेताहरु आत्मआलोचित हुँदै पार्टी विवाद मिलाउने गरी सहमतिमा आएपछि नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री ओलीसँग प्रचण्डले कुनै समझदारी गरेको आशंका गरेका थिए । सचिवालय बैठक अगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीका बीचमा सचिवालय बैठक अगाडी भएको झण्डै २० मिनेटको वान टु वान वार्तामा कुनै समझदारी बनेको र प्रचण्डले नेपाललाई छोडेर ओलीसँग भित्री समझदारी गरेको आशंका नेपाल पक्षका नेताहरुले गरेका थिए ।

तर नेपालले आफुलाई भेटन पुगेका नेताहरुलाई प्रचण्डले आफुलाई कनै धोका नदिएको र दुई नेताबीच एक आपसमा सबै कुरा साटासाट भईरहेकोले अनावश्यक शंका आशंका नगर्न आग्रह गरेका हुन् । ‘म उहँँ (प्रचण्ड) सँग नियमित सम्र्पकमै छ, उहाँलाई आशंका गर्नुपर्ने केही पनि छैन, हामी दुबैले एक अर्कालाई सबै कुराहरु सेयर गरेका छौं, अहिले कुनै हाम्रो असमझदारी छैन, समझदारी र विश्वासको जग अहिले बलियो छ,’ नेपालको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य निरज आचार्यले भने,–‘प्रचण्डलाई शंकाले हेर्नैपर्दैन ।

जे भएको छ राम्रै भएको छ ।’ ओलीले प्रचण्डसँगको भेटमा आफु पार्टीको विधि पद्दती अनुसार अगाडी बढन तयार रहेको, पार्टीमा एक ब्यक्ति एक जिम्मेवारी लागु गरेर जान चाहेको, कार्यकारी अध्यक्षको अधिकार परिभाषित गरेर जान तयार रहेको, पार्टी पूर्ण रुपमा कार्यकारी अध्यक्षले सञ्चालन गर्ने र सरकार आफुले पार्टी निर्णयका आधारमा चलाउने, राजनीतिक नियुक्तिहरु आपसी छलफल र परामर्शका आधारमा गर्न तयार रहेको र अहिलेसम्मका कमजोरी स्वीकारेर जाने बताएपछि शनिबारको सचिवालय बैठक नेताहरुले आत्मआलोचना गरेर सहमति तिर जाने गरी टुंगिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले पार्टी बैठकमा आत्मआलोचना गरेका थिए ।

नेता नेपालले ओलीसँग प्रचण्डको भएको यही विषय आफुलाई पनि जानकारी भएको र एक आपसमा कुराकानी आदानप्रदान नै भएकोले शंका आशंका गरिरहनु आवश्यक नरहेको भन्दै आफु निकट नेताहरुलाई विस्वस्त बनाएर फर्काएका छन् । उनले ओलीको बोली अनुसारको ब्यवहार हेरेर आफुहरुले धारणा बनाउनु पर्ने बताएका थिए । ‘प्रधानमन्त्रीको बोली पहिले पनि एउटा भन्ने र ब्यवहार अर्काे देखाउने प्रवृति थियो, अब यो पटक उहाँले के गर्नुहुन्छ केही दिन पर्खेर ब्यवहारमा हेर्नुपर्छ,’ नेपालले आफु निकट नेताहरुलाई भनेका थिए –‘स्थायी समितिमा उहाँले सचिवालयमा कमजोरी सञ्चाउन गरेको प्रतिवद्धता अनुसार अब ठोस प्रस्ताव ल्याउनुपर्छ ।

हेरौं कस्तो प्रस्ताव ल्याउनुहन्छ ।’ नेता नेपालले आफुले पद को लागि कहिल्यै राजनीति नगरेको र अहिले पनि पदलोलुप देखाउन तेश्रो अध्यक्षको प्रस्ताव गरेपनि अस्वीकार गरेको नेताहरुलाई बताएका थिए ।  उता प्रचण्डले पनि आइतबार आफु निकट नेताहरुसँग कमीकमजोरी सबैले स्वीकार गरेर पार्टी एकता बचाएर जाने सवालमा सचिवालयमा एउटा समझदारी बनेको बताएका थिए । नेता नेपालसँग कुनै असमझदारी नरहेको र नेपालसँग सहकार्य गरेरै अहिले अगाडी बढनेमा प्रचण्डले पनि नेताहरुलाई जानकारी गराएका थिए ।