उदयपुरका बिरामीलाई अस्पतालहरुले सेवा दिन किन मान्दैनन् ?

अकालमै ज्यान गुमाउन बाध्य !

सोमबार, २२ बैशाख २०७७, ०७ : ५१
उदयपुरका बिरामीलाई अस्पतालहरुले सेवा दिन किन मान्दैनन् ?

घटना १
विराटनगर । प्रसूति बेथाले च्यापेपछि उदयपुर गाईघाट–११ की २९ वर्षीया सरस्वती रौनियारलाई गत मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो। शल्यक्रियाका लागि भोलिपल्ट बिहान अप्रेसन थिएटरमा लगियो। शल्यक्रिया प्रक्रियासमेत सुरु भयो। डाक्टरले रगतको व्यवस्था गर्न लगाए। तर, नोबेलले अपर्झट उनको शल्यक्रिया रद्द गरी कोसी अस्पताल रेफर गर्‍यो। ‘उदयपुर ठेगाना भएका कारण रेफर गर्नुपरेको’ नोबेलको पुर्जीमा खुलाइएको छ।

डाक्टरले अप्रेसन थिएटरबाट निकालेपछि अर्को अस्पताल लैजानुपरेको सरस्वतीका श्रीमान् प्रकाशले सुनाए। सरस्वतीले कोसीमा अप्रेसनमार्फत दोस्रो सन्तान छोरो जन्माइन्। शल्यक्रिया गर्ने टोलीका डा। जीवन धमलाले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए। नोबेलका जनसम्पर्क अधिकृत नारायण दाहालले भने प्रसूति गराउनुपर्ने महिलामा ज्वरो देखिएपछि रेफर गरिएको दाबी गरे। डा। धमलाले भने ज्वरो नदेखिएको खुलाए। रेफर पुर्जीमा पनि ज्वरो रहेको खुलाइएको छैन।

घटना २
उदयपुर बेलका नगरपालिका–४ रामपुरकी ५२ वर्षीया रत्नमाया तिम्सिनाको पेट दुखेपछि परिवारका सदस्यले वैशाख १४ गते विराट नर्सिङ होममा ल्याए। ठेगाना हेर्नेबित्तिकै अस्पतालका गार्ड र कर्मचारीले एम्बुलेन्स भित्र छिर्नै दिएनन्। गेटबाटै फर्काइदिएपछि रत्नमायालाई कोसी अस्पतालमै लगियो। उनका छोरा उमेशले कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर आए मात्रै भर्ना लिन सकिने भन्दै विराटले फर्काएको बताए।

घटना ३
उदयपुर त्रियुगाका १६ वर्षीय भीमबहादुर खत्रीलाई पनि नोबेलले शुक्रबार अप्रेसन थिएटरबाटै निकालेर कोसी अस्पताल रेफर गर्‍यो। परिवारका सदस्यले ३२ हजार रुपैयाँ जम्मा गरेपछि भाँचिएको हातको शल्यक्रिया गर्न भन्दै उनलाई अप्रेसन थिएटरमा पुर्‍याइएको थियो। उदयपुरको बिरामी भनेर उपचार गर्न अस्वीकार गर्दै डाक्टरले बाहिर निकालेर रेफर पुर्जी थमाइदिएको भीमका काका शमशेरबहादुर खत्रीले बताए।

यी तीन जना मात्र होइन, विराटनगरका ठूला निजी अस्पतालले उदयपुर घर भएका बिरामीको उपचार गर्न छाडेका छन्। उनीहरूका आफन्त र परिवारका सदस्यले यसबारे मानवअधिकार आयोग र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन थालेका छन्। उदयपुरबाट ल्याइएका बिरामीमा कोरोना संक्रमण आशंका गर्दै डाक्टरले उपचार गर्न इन्कार गर्न थालेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताए। उदयपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँको भुल्के गाउँ सबैभन्दा बढी प्रभावित छ। उदयपुरबाहेक झापामा दुई र भोजपुरमा एक गरी प्रदेश १ मा संक्रमितको संख्या ३१ पुगेको छ।

अधिकारकर्मी ढुंगेलले विराटनगरका मात्रै नभएर प्रदेश १ मै आफूलाई ठूला र सुविधासम्पन्न भनेर चिनाउने निजी अस्पताल उदयपुरका बिरामी भन्ने सुन्नासाथ झस्किने गरेको सुनाए। ‘उदयपुरको भुल्के कोरोनाप्रभावित भए पनि सिंगो जिल्लाका बासिन्दाले उपचार नपाउने अवस्था बन्यो। त्यहाँका बासिन्दाको उपचारमा लापरवाही पनि गर्ने गरेको पाइयो’, उनले भने, ‘ठेगाना हेरेर अप्रेसन थिएटरबाटै निकाल्नु गलत हो। अस्पताल र चिकित्सकले अति गरेका हुन्।’

अधिकारकर्मी उमेश विश्वकर्माले निजी अस्पतालले विभिन्न बहाना देखाउँदै र कोरोना आशंका गर्दै बिरामीलाई उपचारबाट वञ्चित गर्नु बदमासी भएको बताए। विराट नर्सिङ होमका सञ्चालक डा। ज्ञानेन्द्रमानसिंह कार्कीले आफ्नो अस्पतालबाट कोही पनि बिरामीलाई नफर्काइएको दाबी गरे। ‘हामीले कोरोना संक्रमितकै उपचारको तयारी गरिरहेका छौं’, उनले भने, ‘यस्तो अवस्थामा अरू समस्या भएर ल्याइएका बिरामीलाई त झन् किन फर्काउनु रु       ’

कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। संगीता मि    श्राले कोराना आशंका गर्दै रेफर गरिएका कोही पनि बिरामीमा त्यस्तो कुनै लक्षण नदेखिएको बताइन्। कोरोना त्रासकै कारण निजी अस्पतालले धमाधम बिरामी रेफर गर्न थालेको उनको भनाइ छ। ‘उदयपुरका बिरामीले निजी अस्पतालमा उपचारै नपाउने अवस्था आयो’, एक डाक्टरले भने, ‘यो मानवताभित्र पर्दैन।’

एम्बुलेन्सले पनि बोक्न नमान्ने गरेको अवस्थामा यस्तो कार्यलय बिरामीलाई थप तनाव हुने उनको भनाइ छ। ‘बल्लबल्ल एम्बुलेन्सलाई मनाएर अस्पताल पुगेको हुन्छ’, उनले भने, ‘त्यहाँमाथि निजी अस्पतालमा बिरामीले उपचार नै पाउन नसक्नु कति दुःखदायी कुरा हो ?’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस