हचुवाको भरमा अनलाईनबाट कक्षा संचालन, सम्भव छैन : शिक्षक महासंघ

सोमबार, २२ बैशाख २०७७, ०७ : ४४
हचुवाको भरमा अनलाईनबाट कक्षा संचालन, सम्भव छैन : शिक्षक महासंघ

काठमाडौं । निजी विद्यालयले अनलाइन कक्षा शुरू गरेको दाबी गरे तापनि अधिकांशमा पठनपाठन शुरू हुन सकेको छैन । प्याब्सनले हिजो आइतबारबाट अनलाइन कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय समितिलाई निर्देशन दिए पनि अनलाइनबाट कक्षा सञ्चालन गर्न सम्भव भएको छैन ।

कोरोना भाइरस महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि राजधानी र सदरमुकाम छाडेर दूरदराजमा गएका विद्यार्थी सम्पर्कमा नआउन्जेलसम्म अनलाइन कक्षा निरर्थक हुने देखिएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले तत्काल केही समयका लागि पठनपाठन शुरुआत गर्न मात्र अनलाइन कक्षा शुरू गरिएको बताउनुभयो । उहाँले लकडाउन खुकुलो भई भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन नगरेसम्म नियमित अनलाइन कक्षाले सार्थकता पाउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब सरकारले लकडाउन खुकुलो बनाएर विद्यालय खोल्ने वातावरण तयार गर्नुपर्छ ।’

निजी विद्यालयले अनलाइन कक्षा शुरू गरे पनि सरकारी विद्यालयमा हालसम्म अत्तोपत्तो छैन । निजीले शुुल्क उठाउन र शिक्षक कर्मचारीलाई तलब खुवाउने रकम जम्मा गर्न अनलाइन कक्षा शुरू गरेको आरोप लाग्न थालेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अहिलेको अनलाइन कक्षाको कुनै औचित्य नभएको तर्क राख्नुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय नखुलेसम्म कुनै पनि विद्यालयमा अनलाइन कक्षा सम्भव छैन ।’

अहिलेको बजेटमा सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गरेर आउँदो वर्षदेखि शुरुआत गर्दा सम्भव हुने उहाँको भनाइ छ । करिब ३५ हजार सरकारी विद्यालयमध्ये १५ सयमा पनि इन्टरनेटको सुविधा नभएको अवस्थामा अनलाइनबाट कक्षा सञ्चालन गर्न सम्भव छैन । अध्यक्ष थापाले भन्नुभयो– ‘विश्वका अधिकांश मुलुकमा सम्भव नभएको विषय नेपालमा अहिले नै कहाँ सम्भव हुन्छ ।’ उहाँले सरकारले हचुवाको भरमा कक्षा सञ्चालन गर्न आग्रह गर्नु गलत भएको बताउनुभयो । ‘केही दिनपछि मन्त्रीसँग भेटेर तयारी नपुगेको अवस्थामा हचुवाको भरमा गरेको निर्णय तत्काल कार्यान्वयन नहुने जानकारी गराउँछौ ।’ –अध्यक्ष थापाको भनाइ थियो ।

सरकारी र निजी विद्यालयबीच विभेद हुन नहुने बताउँदै बिनातयारी शुरू गरिएको भनिएको अनलाइन कक्षा हाललाई बन्द गर्नुपर्ने उहाँको धारणा थियो । संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० का अध्यक्ष होमकुमार थापाले अनलाइन कक्षा सञ्चालन गर्नु राम्रो विषय भए पनि यसलाई कार्यान्वयन गर्न चुनौती रहेको बताउनुभयो । अनलाइन कक्षा तयारी गर्न हिजो आइतबारदेखि इस्टुले पाँचदिने भर्चुअल तालिम शुरू गरेको छ । इस्टुले जुम क्लाउडमार्फत कक्षा सञ्चालन गरिरहेको छ । ‘हिजो उद्घाटन गरेका छौं, भोलिबाट नियमित तालिम दिनेछौं ।’ –अध्यक्ष थापाको भनाइ थियो ।

हिजो सामाजिक सुरक्षा कोषको विषयमा कक्षा सञ्चालन गरेको थियो । तालिममा गुगल एपमार्फत ई–पुस्तक डाउनलोड गरी कक्षा सञ्चालन गर्ने तयारी गरेको इस्टुले पावर प्वाइन्ट निर्माण, व्यक्तित्व विकास, स्कुलको सांगठनिक स्वरूप, पढाइको विधि, योजना र पाठ्यक्रमका बारेमा तालिम लिने कार्यक्रम रहेको छ । पाँच घन्टाको तालिमलगत्तै शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भएको थापाको भनाइ छ । उमेर समूह फरक भएका कारण तत्काल अनलाइनबाट सबै कक्षा सञ्चालन गर्न सम्भव नभएको तर्क राख्दै उहाँले भन्नुभयो– ‘अहिले अनलाइनबाट शुरू गरे पनि विद्यालय खुलेलगत्तै शुरूबाट नै पढाउनुको विकल्प छैन ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस