नेपालमा परीक्षण निकै सुस्त गतिमा, १३४१४ जनाको मात्रै कोरोना परीक्षण

पत्रपत्रिकाबाट

सोमबार, २२ बैशाख २०७७, ०७ : ३३
नेपालमा परीक्षण निकै सुस्त गतिमा, १३४१४ जनाको मात्रै कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९ ) भए नभएको पत्ता लगाउने आरटीपिसीआर विधिबाट नेपालमा हालसम्म १३ हजार चार सय १४ जनाको मात्रै कोरोना परीक्षण भएको छ । यसरी हेर्दा पछिल्लो हालसम्म आरटीपिसीआर प्रविधिबाट १३ हजार चार सय १४ जनाको परीक्षण गरीएपनि दैनिक पाँच सय ३० जनाको मात्रै परीक्षण हुने गरेको पाइएको छ । जुन संख्यात्मक हिसाबमा निकै कम हो ।

पछिल्लो एक हप्तामा तिन हजार चार सय ८४ जनाको आरटीपिसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । गत आइतवार ९ हजार ९ सय ३१, सोमवार १० हजार चार सय ७१, मंगलवार १० हजार आठ सय सात, बुधबार ११ हजार पाँच सय २४, विहिवार १२ हजार ११, शुक्रवार १२ हजार पाँच सय ७७, शनिवार १३ हजार ९८ जना र हिजो आइरबारसम्म १३ हजार चार सय १४ जनाको कोरोना परीक्षण भएको थियो । यसरी हेर्दा परीक्षणको दायरा निकै कम भएको विज्ञहरुले बताएका छन् ।

वैज्ञानिक शोधका अनुसार ‘¥यापिड टेस्ट’ मा नेगेटिभ आएको परीक्षणको नतिजा पीसीआरमा पोजेटिभ आउन सक्छ । माइक्रोवायोलोजिष्ट जितेन्द्र श्रेष्ठले भने, ‘आरडिटी किटले भाइरस लागेको ८ देखि १० दिन पछि मात्र पोजेटिभ रिजल्ट देखाउन सक्छ भने भर्खरै भाइरस संक्रमण भएको शरीरले एन्टिबडी नै बनाउन सुरु नगर्दा यसको नतिजा नेगेटिभ आउँछ । मेडिकल भाषामा यसलाई ‘फल्स नेगेटिभ’ भनिन्छ । ’

कोभिड १९ पत्ता लगाउन रियल टाइम पिसीआरनै उपयुक्त विधि रहेको विज्ञहरु बताउँछन् । आरटीपीसीआरले संक्रमित बिरामीको नमुनामा भएको भाइरसको अनुवंशिक तत्वहरु (जेनेटीक म्याटिरियल) पत्ता लगाउन सक्छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १७ स्थानवाट आरटीपिसीआर प्रविधि मार्फत् कोरोना परीक्षण हुँदै आएको छ ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीट टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि भएको बताएका छन् ।
जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले भने,–‘आरडीटीले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन । यसले जाँच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबडी मात्र देखाउने हो । रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जाँच गरेका छौं भन्नको लागि मात्र हो ।’ राजधानी दैनिकमा खबर छ ।