भ्रष्टाचारको महामारी : कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषदबाट कानुन नै संशोधन

पत्रपत्रिकाबाट

सोमबार, २२ बैशाख २०७७, ०६ : ५०
भ्रष्टाचारको महामारी : कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषदबाट कानुन नै संशोधन

फाईल फोटो

काठमाडौं । नेपाल प्रहरीका लागि ६० करोड रुपैयाँबराबरको सञ्चार प्रविधि खरिद गर्ने जिम्मा लिएको कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषद्ले कानुन नै संशोधन गरिदिएको छ । यो देशमा ठेकेदारले आफैँले कबुल गरेको समयमा काम गर्न सक्दैनन्, तर सिंहदरबारलाई प्रभावित गरेर कानुन नै संशोधन भने गर्न सक्छन्, यो कठोर सत्य सेना र प्रहरीको ठेक्कामा सक्रिय दीपक भट्टले फेरि पुष्टि गरेका छन् । आजको नयाँ पत्रीकामा खबर छ । 

सर्वेन्द्र खनाल महानिरीक्षक भएको वेला प्रहरीले प्रदेश नम्बर १ का चार जिल्ला झापा, मोरङ, सुनसरी र धनकुटामा डिजिटल ट्रङिकङ सिस्टम जडानको टेन्डर आह्वान गरेको थियो । नेपालमा अमेरिकी कम्पनी मोटोरोलाको तीन एजेन्ट भए पनि प्रहरीले टेन्डर आह्वान गर्दा टी–२५ डिजिटल कम्युनिकेसन सिस्टम मागेको थियो । टी–२५ का एजेन्ट भट्टको पेरोल इन्टरप्राइजेज मात्रै हो । यसरी पूर्वयोजनाअनुसार पेरोलले ५३ लाख अमेरिकी डलर (करिब ६० करोड रुपैयाँ)मा ठेक्का पाएको थियो ।

अर्काेतर्फ प्रहरी संघीयतामा प्रवेश गरिसकेको छ । प्रदेश प्रहरीहरू स्वायत्त हुने संवैधानिक प्रावधान छ । यस्तो वेलामा प्रहरी प्रधान कार्यालयले एउटा प्रदेशका चार जिल्लामा यस्तो सिस्टम जडान गर्न लागेकोमा समेत प्रहरी अधिकारी आश्चर्यमा परेका थिए । तर, सम्पूर्ण योजना मिलिसकेकोले पेरोल इन्टरप्राइजेजले ठेक्का पायो । 

सिस्टम जडानका लागि आवश्यक टावर निर्माणलगायतको कामसमेत डलरमा सम्झौता भएको थियो । नेपालमै उपलब्ध हुने सामानको मूल्य डलरमा भुक्तानी गर्ने सम्झौता भएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाइसकेको छ । 

ठेक्का सम्झौता दुई वर्षअघि नै भए पनि म्याद भने सामान ल्याउन एलसी खोलिएको मितिबाट सम्झौता लागू हुने उल्लेख थियो । गत वर्ष जेठमा एलसी खोलियो, जसको एक सय ८० दिनभित्र सामान ल्याएर जडान गर्नुपर्ने उल्लेख थियो । तर, एक वर्षसम्म पनि पेरोलले काम सकेन । 

समयमा काम सम्पन्न नगरेको पेरोलले एक वर्षसम्म प्रगति विवरणसमेत नबुझाएपछि नेपाल प्रहरीले ८ वैशाखमा ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । प्रहरीले पेरोलको बैंक ग्यारेन्टी जफत गर्न पत्राचार गरेपछि पनि भट्ट निराश भएनन् । बरु उनले प्रहरीको निर्णय खारेज हुने गरी सार्वजनिक खरिद नियमावली नै मन्त्रिपरिषद्बाट संशोधन गराएका हुन् । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली नै संशोधन गरिदियो । नियमावलीमा जेसुकै लेखिएको भए पनि निर्धारित समयमा काम नसकेका कम्पनीले अब २१ दिनभित्र निवेदन दिएमा ठेक्काको म्याद थपिने निर्णय गरेर मन्त्रिपरिषद्ले भट्ट र उनीजस्ता ठेकेदारको स्वार्थ सुरक्षित गरेको छ । 

ठेकेदार बलिया र राज्य कमजोर हुँदा सार्वजनिक खरिद नियमावली २०६४ विगत १२ वर्षमा १० पटक संशोधन भएको छ । त्यसमा पनि विगत एक वर्षमा पाँचपटक संशोधन भएको छ । गत पुसमा मात्र पनि नियमावली संशोधन भएकोमा मन्त्रिपरिषद्ले अहिले फेरि अर्को संशोधन गरेर दफा १२० मा उपदफा १(ग) थप गरेको छ । जसमा भनिएको छ, ‘उपनियम १(क), १(ख)मा जेसुकै लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुनुअघि म्याद समाप्त भई कुनै कारणवश त्यस्तो म्यादभित्र म्याद थपका लागि निवेदन दिन नसकेको सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक वा परामर्शदाताले यो उपनियम प्रारम्भ भएको मितिले २१ दिनभित्र म्याद थपका लागि निवेदन दिन सक्नेछ ।’ यसरी नियमावलीमा जेसुकै लेखेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरेको २१ दिनभित्र निवेदन दिने कम्पनीको ठेक्का ब्युँतिने भएको छ ।

कोरोना भाइरसले लकडाउन भएका कारण ठेक्काको म्याद थपिएको सरकारको भनाइ छ । तर, नेपालमा लकडाउन ११ चैत ०७६ बाट सुरु भएको हो । तर, त्योभन्दा अघिल्लो वर्ष नै सकिनुपर्ने ठेक्काको जिम्मा पनि कोरोनालाई दिनुपर्ने हो भन्ने प्रश्न उठेको छ । फेरि लकडाउनकै कारण हो भने देशमा अहिले पनि लकडाउन जारी छ, र कहिलेसम्म जारी रहन्छ भन्ने टुंगो छैन । तर, ठेक्कापट्टाको म्याद थप्न भने १५ वैशाखदेखि लागू हुने भनेर सरकारले केका आधारमा निर्णय गर्‍यो भन्ने प्रश्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘यो त हामीले जान्ने विषय होइन, छलफल भएर आएको प्रस्ताव पनि होइन । तर्कको खास अर्थ रहेन ।’