आइपिएलको अक्सन डिसेम्बरमा भारतमै हुने

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १३ : ४०
आइपिएलको अक्सन डिसेम्बरमा भारतमै हुने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ।

फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन हुने मिति सम्भावित देखिएको समाचार संस्था क्रिकबजले जनाएको छ। यद्यपी, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका पक्का गरेको छैन।

यसपटक अक्सन भारतमै हुने सम्भावना बढी छ। अघिल्ला दुई संस्करणमा अक्सन विदेशमा भएको थियो । सन् २०२३ मा दुबई र २०२४ मा साउदी अरेबियाको जेद्दामा अक्सन भएको थियो। तर यो पटक बीसीसीआईले मिनी अक्सन भारतमै गर्ने तयारी गरिरहेको बताइएको छ।

फ्रेन्चाइजहरूले नोभेम्बर १५ भित्र आफ्नो रिटेन्सन सूची (राख्ने र छोड्ने खेलाडीहरू) पठाउनुपर्नेछ। त्यतिबेलासम्ममा टिमहरूले अक्सनअघि छोड्ने खेलाडीहरूको नाम टुङ्ग्याउनेछन्।

यो सिजन ठूला परिवर्तन हुने संकेत खासै छैन, तर चेन्नई सुपर किङ्स (सीएसके) र राजस्थान रोयल्सबाट केही फेरबदल हुने अपेक्षा गरिएको छ। यी दुई टिम अघिल्लो सिजनको तल्लो स्थानमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस