रोल्पाको बम विस्फोटको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग

शुक्रबार, १९ बैशाख २०७७, १३ : २९
रोल्पाको बम विस्फोटको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा बेबारिसे बम विस्फोट भएर ४ बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

शुक्रबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  विज्ञप्ति जारी गरी चार अवोध बालबालिकाको मृत्यु भएको यो घटनाबाट काँग्रेससँगै सिंगो देश मर्माहत भएको बताए । उनले भने, 'एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ ।'

'द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,' विज्ञप्तिमा भनिएको छ।

नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न काँग्रेसले सरकारको ध्यानाकषर्ण गरेको छ ।

शर्माले भने,'नेपाली काँग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँ पनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली काँग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।'

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस