सामान्य ज्वरोमा पनि अस्पतालले भर्ना नलिदा २७ वर्षिय युवाको मृत्यु

शुक्रबार, १९ बैशाख २०७७, ०८ : ०४
सामान्य ज्वरोमा पनि अस्पतालले भर्ना नलिदा २७ वर्षिय युवाको मृत्यु

मोरङ । सुनसरीको देवानगञ्ज गाउँपालिका(१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई सुनसरी प्रहरीको संयोजनमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । 

उनका बुवा जोगीलाल यादवका अनुसार प्रतिष्ठानका चिकित्सकले बिहीबार साँझ ७ बजे रविन्द्रलाई मृत घोषणा गरेका हुन् । ‘समयमा अस्पताल ल्याउन नसक्दा बचाउन नसकेको चिकित्सकले बताए,’ उनले भक्कानिँदै भने, ‘छोराको शव पोष्टमार्टमपछि मात्रै लग्न मिल्छ । पोष्टमार्टम भोलि हुन्छ ।’

रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरेका थिएनन् । आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो ।

अस्पतालका चिकित्सक डा. लक्ष्मीनारायण यादवले बिरामीको मिर्गौलामा समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक भएको र आफूहरुसँग भेन्टिलेटर नभएकाले रेफर गरिदिएको बताए । त्यसपछि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा एक सय एक डिग्री ज्वरो आएकै कारण भर्ना गर्न नमानेको बुवा जोगीलालले बताए । ‘नोबेलले भर्ना नलिएपछि पुनस् फर्काएर कोसी अस्पताल ल्यायौं ।

राति ११ बजेसम्म आकस्मिक कक्षअगाडि राख्दा पनि भर्ना लिन मानेनन्,’ उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीले यहाँ राखे बिरामीको मृत्यु हुने भएकाले अन्य अस्पतालमा लग्नु भने ।’ केही सिप नलागेपछि उनलाई घर लग्न बाध्य भएको यादवले बताए ।

‘चार दिन कोसी अस्पतालमा उपचार गर्दा एक लाख रुपैयाँ सकिएको थियो,’ उनले भने, ‘घरमा लगेपछि समाजका मानिसले पुनस् पैसा जम्मा गरिदिएर उपचारका लागि अस्पताल लग्न सघाए ।’ रविन्द्रलाई बिहीबार बिहान विराटनगरस्थित ग्रीन क्रस हस्पिटल पनि लगियो तर भर्ना गर्न अस्पतालले मानेन ।

त्यसपछि गोल्डेन अस्पताल लगायतले पनि नमानेपछि बीपी प्रतिष्ठानमा लग्ने योजना बनाएको बुवा जोगीलालले बताए । ुप्रतिष्ठान प्रशासनसँग सम्पर्क गर्‍यौं तर त्यहाँ पनि ज्वरो आएका बिरामीलाई भर्ना नलिने बताए,’ उनले भने, ‘रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले कुनै पनि अस्पतालले भर्ना लिन मानेनन् ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस