प्रधानमन्त्री ओलीले किन फ्याके फेरी अर्काे कार्ड ?

कुल १७४ नेकपाका प्रतिनिधीसभा सांसदमध्ये ८८ जना सांसद पु¥याएर बहुमत जुटाउने र बहुमत देखाएर विरोधी नेताहरुलाई चुनौती दिने प्रधानमन्त्रीको योजना

विहीबार, १८ बैशाख २०७७, ०८ : १५
प्रधानमन्त्री ओलीले किन फ्याके फेरी अर्काे कार्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग संगत गरेका प्रदीप नेपालले केही दिन अगाडी भनेका थिए – ओलीले आफुलाई अप्ठयारो र संकट आईलाग्यो भने नयाँ फन्डा गरेरै भएपनि विषयलाई विषयान्तर गर्न सक्ने खुबी राख्छन् । नेकपाभित्र राजनीतिक दल र सम्बैधानिक परिषद सम्बन्धी अध्यादेश प्रकरण पछि ओलीलाई पार्टी भित्र र बाहिर दुवैतिर अप्ठयारो आईलागेको थियो । उनको पार्टी नेकपाले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवैवाट राजीनामा दिन अत्याईरहेको थियो ।

त्यही बेला नेपालले ओलीको शैली ब्यक्त गदै भनेका थिए,– ‘हेर्दै जानुहोला यो बेला पनि ओलीले कुनै न कुनै नयाँ फन्डा ल्याउँछन्, आफुमाथीको संकट छल्ने र टार्ने प्रयास गर्छन् ।’ नभन्दै ओलीले बुधबारको सचिवालय बैठकमा अप्रत्यासित र नेताहरुले सोच्दै नसोचेको नयाँ कार्ड फाले ।  पार्टी विधान संसोधन गरेर वरिष्ठ नेता माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउने, संविधान संसोधन नै गरेर भएपनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ।

त्यसका लागि उनले शर्त पनि तेस्र्याए– तर त्यो कोरोनाबाट उत्रेपछि । बुधबारको सचिवालय बैठकमा ओलीले शुरुमै ल भन्न्ुहोस, तपाईहरुकै कुराबाट बैठक शुरु गरौं भन्दै बैठकको संयुक्त अध्यक्षता गरेका कार्यकारी अध्यक्ष प्रचण्डलाई आफना कुराबाट बैठक शुरु गर्न आग्रह गरे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको शैली, स्वभाव र काम गराईले पार्टी र सरकार दुवै बदनाम भएको भन्दै बैठकमा अगाडी भने–‘एउटा पात्र र प्रवृतिले सिंगो कम्युनिष्ट पार्टी र झण्डै दुई तिहाई जनमत रहेको कम्युनिष्ट सरकार बदनाम हुने अवस्था बन्न दिनुहुन्न । प्रधानमन्त्रीको शैलीले पार्टी र सरकार बदनाम भयो । पार्टी र सरकारबाट राजीनामा दिनुहोस् । पार्टी पनि बचाउनुहोस्, सरकार पनि ।’ 

अध्यक्ष प्रचण्डले ओलीको राजीनामा के मागेका थिए, ओलीले त्यसपछि नै बैठकमा नयाँ कार्ड फ्याकेका थिए  । ‘कोरोनापछि राजीनामा दिउँला । त्यसबेला नयाँलाई अवसर दिऔं, वामदेवलाई प्रधानमन्त्री बनाएर जाऔं । माधवजीलाई वरियताकै चिन्ता हो भने तेश्रो अध्यक्ष पनि विधानमा ब्यवस्था गरौं, उहाँलाई पनि तेश्रो अध्यक्ष बनाऔं ।’  ओलीको यस्तो फन्डा बैठकमा आउछ भन्ने नेताहरुले आशंका समेत गरेका थिएनन । भलैं, त्यो कुरा वामदेव गौतमलाई भने पहिले नै सामान्य सूचना पुगिसकेको बालुवाटार स्रोतले बतायो ।

पार्टी स्थायी समिति बैठक जसरी पनि बोलाउने र त्यहाँबाटै ओलीलाई गलहत्याउने योजनामा रहेका बहुमत नेताहरुलाई नै सरप्राइज दिदै ओलीले त्यस्तो प्रस्ताव ल्याएका थिए । जसले बैठकमा नेताहरुले आफुले बनाउने धारणामै नयाँ मोड दिएको थियो । ओलीले नेताहरुले स्थायी समिति माग गर्दा आफु संसदीय दलमा बहुमत जुटाएर दल बैठक बोलाउने तयारीमा थिए । त्यसका लागि उनले सोमबार देखि आफु निकट सांसद र केन्द्रीय सदस्यलाई बारम्वार बालुवाटार बोलाएर तम्तयारी अवस्थामा रहन र हस्ताक्षर गर्न निर्देशन दिएका थिए ।

कुल १७४ नेकपाका प्रतिनिधीसभा सांसदमध्ये ८८ जना सांसद पु¥याएर बहुमत जुटाउने र बहुमत देखाएर विरोधी नेताहरुलाई चुनौती दिने योजना प्रधानमन्त्रीको थियो । तर जति नै प्रयास गरेपनि उनले संसदीय दलमा पनि बहुमत जुटने अवस्था देखेनन् । तीन दिनको अथक प्रयास गरेपनि जम्माजम्मी ६४ जना सांसदले मात्र ओलीको खाली कागजमा सही गरे । अन्यले गर्न मानेनन् । यसले ओलीलाई दलमा बहुमत जुटाउने तयारीमा ब्रेक लगायो । त्यसपछि नै हो, उनले तेश्रो अस्त्र फाल्ने योजना बनाएको ।  बालुवाटार स्रोतका अनुसार, बुधबारको सचिवालय बैठक अगाडी ओलीले वामदेव गौतमका पत्नी तुलसी थापालाई बालुवाटार निम्ताएर यसको सामान्य सूचना दिईसकेका थिए । 

‘म वामदेव जीलाई राम्रै होस भन्ने चाहन्छु, उहाँको योगदान मैले बिर्सेको छैन, तपाई नै गएर भनिदिनुहोस म कोरोनापछि राजीनामा दिन्छु, त्यसबेला वामदेवलाई प्रधानमन्त्री बनाउने गरी तयारी गर्छु, अहिले यो बेला उहाँले मलाई साथ दिनुपर्छ,’ प्रधानमन्त्रीले वामदेव पत्नीलाई बोलाएर भनेका थिए । त्यसपछि नै हो, गौतम पत्नी थापाले भैसेपाटी निवासमा पुगेर प्रधानमन्त्रीको तयारी सुनाएकी । सचिवालय बैठकमा ओलीले सोही अनुसार प्रस्ताव पनि गरे । त्यसपछि गौतमले भने,– ‘प्रधानमन्त्री इमान्दार बन्ने प्रयास गर्नु राम्रो होला ।’

ओलीको यो फन्डा भित्र फेरि नेताहरुलाई गलाउने, थकाउने र आफु माथीको संकट टार्ने मेसो मात्र रहेको विश्लेषण शुरु भईसकेको छ । तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा दिनुपर्छ भन्ने नेताहरुलाई मथ्थर बनाउन र आफुले राजीनामा नदिने भनेको छैन, तर कोरोनाको संकटका बेला सरकार हेरफेर गर्दा राम्रो सन्देश जादैन भन्ने सन्देशमार्फत ओलीले नेताहरुको मथिंगल हल्लाउन चाहेका थिए । बुधबारको सचिवालयमा उनले नेताहरुको मथिंगल त्यसैगरी हल्लाईदिएका छन् ।

स्थायी समितिको मिति तोक्ने र ओलीविरुद्ध निर्णय लिने तयारीमा रहेका नेताहरुलाई थप ३ दिन ओलीको नयाँ प्रस्तावमा छलफल गरेर समय गुजार्ने मौका दिएका छन् । ओलीको यो भित्री मनै देखिको इच्छा भन्दा पनि आफुमाथी आईपर्ने संकट टार्ने अस्त्रका रुपमा मात्र आएको प्रस्ताव भएको नेताहरुको बुझाई देखिन्छ । अब यो प्रस्तावमा नेताहरुले आज , भोलि र पर्सि दिउँसो सम्म छलफल गर्ने र २० गते सचिवालय बैठक बस्ने गरी बुधबार बैठक सकिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस