लकडाउन : पहिलो दिन निस्किए सम्झाइने, दोस्रो पटक निस्किए कारवाही

यस्तो छ आइजीको तयारी

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०७७, २० : ३४
लकडाउन : पहिलो दिन निस्किए सम्झाइने, दोस्रो पटक निस्किए कारवाही

काठमाडौं । हाल विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९ को संक्रमण नेपालमा पनि देखा परेको छ ।  त्यस भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको कार्यान्वयनको महत्वपूर्ण जिमेवारी नेपाल प्रहरीको हो । 

कोरोना भाइरस संक्रमणलाई रोक्न सरोकारवाला निकायको सहयोगमा विभिन्न स्थानहरूमा आवश्यक काममा प्रहरी खटिएको छ । कीटनाशक औषधि छर्कने, स्वासबाट संक्रमण हुन नदिन प्रयोग गरिने मास्कलाई सुरक्षित प्रयोग गर्ने विधिबारे जानकारी गराउने, कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक पर्चा वितरण गर्ने, भाइरसबाट बँच्न माइकबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने, सडकपेटीमा बस्दै आएका घरबारबिहीन वृद्धवृद्धाहरूको स्वास्थ्यको ख्याल गर्दै उद्दार गरी सामाजिक संघसंस्थाहरूको सहयोगमा पुनस्स्थापित गर्ने नेपाल प्रहरीले गर्दै आएको छ ।    
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली भन्छन् “लकडाउनको प्रभावकारी पालना गराउन व्यक्तिहरुलाई घरदेखि बाहिर निस्कन नदिन र नेपाल सरकारका विभिन्न संचार माध्यमबाट भएका विभिन्न क्रियाकलापका साथसाथै लकडाउन कार्यान्वयनका लागि नेपाल प्रहरीले पटकपटक माईकिङ गरेर जानकारी दिएको छ ।” 

उनका अनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको साथसाथै कुनै पनि विपद् र बिषम परिस्थितबाट सिर्जित अपराधको प्रकृति र प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि योजनाबद्ध रुपले प्रहरीको परिचालन गर्न कुनै कमि आउन दिइने छैन ।  साथै कोभिड(१९ संक्रमण नियन्त्रण र निरुत्साहीत गर्नमा समेत प्रतिवद्धताका साथ प्रहरी परिचालन गरिएको छ । 

लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी गतिविधि निग्रानी राखिएको छ । पहिलो पटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यही फिर्ता पठाउने र पुन दोहोर्र्याएमा गतिविधिको आधारमा आवश्यक कारवाही समेत गर्ने गरिएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली थप्छन् “नेपाल सरकारको लकडाउन आदेशलाई अन्य निकायसँग पनि समन्वय गरी नेपाल प्रहरीले पूर्ण रुपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरेको छ । विपद्को समयमा थप काम गर्न नेपाल प्रहरी तयार रहेको छ ।” विपद्को अवस्था पछि हुन सक्ने अपराधको प्रवृतिलाई मध्य नजर गर्दै योजना बद्ध तरिकाले प्रहरीको परिचालन हुने र त्यसमा कुनै कमी आउन नदिने उनको भनाइ छ ।

कोरोनाको संक्रमणलाई रोक्नको लागि सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरी समेत उच्च जोखिममा रहेको अवस्था छ । यस अवस्थामा सुरक्षित हुनका लागि माक्स, सेनिटाइजरको प्रयोग गर्न सकिन्छ । 

प्रहरी अस्पतालको यस्तो छ व्यवस्था 
आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह भन्छिन् “प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था गरेका छौं । 
पिपिई व्यवस्थाका साथै प्रहरी मानसिक रुपमा बलियो हुनु आवश्यक छ । प्रहरी कर्मचारीको उपचारको लागि नेपाल प्रहरी अस्पताल सक्षम छ । यसका लागि पूर्व तयारी पनि गरेका छौं । त्यसलाई अझ सुदृढ बनाउन थप सामग्रीको व्यवस्था, आइसोलेशन, आइसियूको क्षमता वृद्धि गर्ने व्यवस्था गर्दै छौं ।    
लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्य अनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटिन तयारी अवस्थामा राखिएको छ । 

तालिम भन्दा लडकडाउनमा फोकस 
सम्पूर्ण जिल्लामा थप जनशक्ति परिचालन गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल प्रतिष्ठानको तत्वावधानमा संचालन हुने तालिम हाल स्थगित गरिएको छ । अग्रपङ्तिमा बसेर काम गर्नुपर्ने प्रहरी कर्मचारीलाई अहिले तालिममा भन्दा पनि लकडाउनलाई पूर्ण कार्यान्वयन गराउनेतर्फ केन्द्रीत गरिएको छ ।  

देशलाई संकट परेको यस विषम परिस्थितिमा नेपाल प्रहरीले आफूलाई अग्रमोर्चामा उभ्याएको छ । महामारी रोकथाम र नियन्त्रणका लागि गरिएका पूर्व तयारीका काममा अन्य निकायझैं नेपाल प्रहरी एक्यवद्ध भई अगाडि बढेको छ । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापन लगायतका काममा प्रहरीको सकृयता उल्लेखनीय छ । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवम् उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने मात्र होइन भाइरसको कारण जनमानसमा उत्पन्न डरत्रासको वातावरण र पीडावोधलाई विर्साउने गरी सम्झाउने बुझाउने काम नेपाल प्रहरीले गर्दै आएको छ । 

नेपाल प्रहरीले वृत्तचित्र समेत निर्माण गरी लकडाउन कार्यान्वयन सम्बन्धमा नेपाल प्रहरीले गरेको कामको विस्तृत जानकारी प्रदान गरेको छ । उक्त वृत्तचित्र युट्युव तथा नेपाल प्रहरीको फेसबुक पेजमार्फत हेर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस