राहतको चामल गुणस्तरहिन दिएको आरोपमा व्यवसायीविरुद्ध मुद्दा दायर

मंगलबार, १६ बैशाख २०७७, १० : ५४
राहतको चामल गुणस्तरहिन दिएको आरोपमा व्यवसायीविरुद्ध मुद्दा दायर

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।  जेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ  ।

गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल खान योग्य नभएको भन्दै राहत पाएकाहरुले विरोध जनाएका थिए ।  कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो । खाद्य सामग्री उत्पादन र बिक्र िवितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान  भए पनि  उद्योगसंँग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ ।

खाद्य ऐन २०२३  उल्लंघन गरी न्यून गणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेको कसूरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्रििवतरण गरेका हकमा  व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ ।

लागुऔषधसहित पक्राउ
ब्राउन सुगर र अन्य लागूऔषधको कारोवारमा संलग्न एक जनालाई पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले पक्राउ गरेको  छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सरावल गाउँपालिका, भुजहवा नाकाबाट पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकुमार उपाध्यायलाई पक्राउ गरेको हो  । सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागुऔषध ल्याइँदै गर्दा उपाध्यायलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर नवलपरासीका उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयो । 

क्यारेन्टाइनमा अनुगमन
पश्चिम नवलपरासीमा रहेका अधिकाश संस्थागत  क्वारेन्टाइन मापदण्डअनुसार  थप सुधार गर्न आवश्यक देखिएका छन् । विभिन्न स्थानीय तहमा रहेका संस्थागत क्वारेन्टाइनमा सरोकार पक्षले गरेको अनुगमनका क्रममा मापदण्डअनुसार सुधार गर्न आवश्यक देखिएको टोलीले निष्कर्ष निकालेको हो । अधिकांश क्वारेन्टाइनको अवस्था सन्तोषजक रहे पनि मापदण्डानुसार सुधार गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । 

ढाँटेर राहत लिनेलाई सेवा रोक्का 
रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ  । झुटा विवरण दिएर राहत लिने तथा भ सिफारिस  गर्ने जोकसैलाई कारवाही गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो  । (रासस)