लकडाउन बढ्नुको मुख्य कारण : ‘फितलो ट्रेसिङ र टेस्टिङ’

पत्रपत्रिकाबाट

सोमबार, १५ बैशाख २०७७, ०७ : २९
लकडाउन बढ्नुको मुख्य कारण : ‘फितलो ट्रेसिङ र टेस्टिङ’

फाईल फोटो

काठमाडौँ । संक्रमितको संख्या बढ्दै गएको र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ र टेस्टिङको कार्य सन्तोषजनक नभएको निष्कर्षसहित सरकारले लकडाउन १० दिन बढाएको छ ।

कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ५२ पुगेको छ । तीमध्ये १६ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कोसी अस्पतालमा सबैभन्दा धेरै ३० जनाको उपचार भइरहेको छ । यस्तै वीरगन्जको नारायणी अस्पतालमा ३, भरतपुर अस्पताल र सेती अस्पतालमा एक–एक जनाको उपचार भइरहेको छ । आइतबार मात्रै वीरगन्जका दुई र झापाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

सरकारले ट्रेसिङ र टेस्टिङ सन्तोषजनक नरहेको जनाए पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने टेस्टिङ र ट्रेसिङको दायरा बढाउँदै लगिएको दाबी गरे । उनले ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भएको र संक्रमितहरूसँग सम्पर्कमा आएकालाई ट्रेस गरेर परीक्षण गरिरहेको बताए । महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि ट्रेसिङको कार्य सन्तोषजनक रूपमा अगाडि बढेको दाबी गरे । उनका अनुसार हालसम्म फेला परेका सबै संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरेर परीक्षण गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस