स्थायी समितिमा प्रचण्ड, माधव नेपाल पक्ष एकै ठाँउ, बादल पक्षको पनि साथ ! ओली पक्ष एक्लीए

स्थायी समितिका २० नेताले बैठक बोलाउन अध्यक्षद्धयलाई पत्र नै लेखे (पत्र सहित)

विहीबार, ११ बैशाख २०७७, ०९ : ४४
स्थायी समितिमा प्रचण्ड, माधव नेपाल पक्ष एकै ठाँउ, बादल पक्षको पनि साथ ! ओली पक्ष एक्लीए

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र नयाँ नयाँ समिकरण बन्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकलाई छलेर राजनीतिक दल विभाजनको प्रावधान र संम्वैधानिक परिषद सम्बन्धि ऐनका प्रावधान संसोधनका लागि ल्याएको दुई अध्यादेशपछि नेकपाभित्र ओली विरुद्ध नेताहरुको सामुहिक गठबन्धन निर्माण हुन थालेको छ ।
 
पार्टीका पूर्व माओवादी धार र पूर्व एमाले भित्रका माधव नेपाल धारका नेताहरु एकै ठाँउमा उभिएर अध्यादेशले पार्टी विभाजनको खतरा बोकेर ल्याएकोले यस विषयमा पार्टीमा छलफल माग गरेका छन् । स्थायी समितिका २० जना नेताले तत्काल स्थायी समिति बैठक बोलाएर छलफल गर्न र त्यसपछि केन्द्रीय समिति बैठक समेत बोलाउन माग गर्दै हस्ताक्षर सहितको पत्र अध्यक्षद्धयलाई नै बुझाएका छन् ।
 
त्यसरी बैठकको माग गर्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र सचिवालय सदस्य रामबहादुर थापा निकट नेताहरु एकै ठाँउमा उभिएका छन् । सचिवालयको बैठकमा नेता थापाले प्रधानमन्त्री ओलीलाई साथ दिएको भनिएपनि उनी पक्षधर नेताहरु भने प्रचण्ड र माधव नेपाल समुहका नेताहरुसँगै देखिएका छन् । यसबाट पनि देखिन्छ, ओली पार्टीमा एक्लिदै गएका छन् । प्रचण्ड, माधव नेपाल एकातिर देखिएका छन् । ओलीतिर भनिएका बादल समुह पनि अन्ततः ओलीतिर नरहेको बैठक माग गदै हस्ताक्षर गरेका नेताहरुसँगै देखिएबाट पुष्टि भएको नेकपाभित्र चर्चा छ ।

ओलीकै भनिएका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली पनि अध्यादेशको विपक्षमा देखिएका छन् । जसले गर्दा ओली स्थायी समितिसम्म असाध्यै कमजोर अवस्थामा पुगेका छन् । नेकपाको विधानमा ४५ सदस्यीय स्थायी समितिको ब्यवस्था छ । तर यस अगाडी स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा सभामुख बनेपछि उनको रिक्त रहेको स्थान खाली छ । ४४ सदस्यीय स्थायी समितिमा ओलीले ल्याएको विपक्षमा बहुमत सदस्य उभिएका छन् ।

सचिवालय सदस्य र सरकारमा सहभागी मन्त्री बाहेक अन्य २० नेताहरुले बैठक माग गदै हस्ताक्षर गरेका हुन् । यसरी हस्ताक्षर गर्नेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेल छन् । 

सरकारमै रहेका गिरिराजमणि पोखरेल, घनश्याम भुषाल, वर्षमान पुन, लेखराज भटट, शक्ति बस्नेत, योगेश भटटराईले पनि माधव, प्रचण्डको टिमलाई नै साथ दिने देखिएको छ । ओली पक्षकै नेता प्रदीप ज्ञवालीले पनि क्याबिनेट बैठकमै विरोध जनाएका थिए । यसो हुँदा ओली स्थायी समितिमा पनि प्रष्ट कमजोर अवस्थामा देखिने भएका छन् ।

यस्तो छ स्थायी समिति सदस्यले बुझाएको पत्र
 
कमरेड अध्यक्ष,
केन्द्रीय कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा),
धुम्बाराही, काठमाडौं ।
विषयः स्थायी कमिटीको बैठक बोलाउनेबारे ।
प्रिय कमरेडहरू,
 
संसारभरि मानव जीवनमा गम्भीर खतरा सिर्जना गरिरहेको कोरोना विषाणु संक्रमणको चुनौती नेपालले पनि सामना गर्नुपरिरहेकोे छ । कोराना संक्रमणको प्रभाव कति हुने हो र त्यसको लागि कस्तो स्थितिको सामना गर्नुपर्ने हो भन्ने सर्वत्र चिन्ता छ । नेपाल सरकारले संक्रमणबाट सुरक्षाका लागि जारी गरेको बन्द र बन्देजको झन्डै एक महिना हुन लागेको छ । नेपाली जनता अत्यन्त कठिन स्थितिमा रहेका छन् । पार्टीका गतिविधिलगायत दैनिक जनजीवनका कैयौँ महत्वपूर्ण कामहरू ठप्प छन् ।

यस्तो स्थितिमा सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी, विपक्षीसमेत अन्य राजनीतिक दलहरू तथा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै सरकार र पार्टीमाथि जनताको भरोसा एवं विश्वास बलियो हुनेगरी सरकारका सबै कामकुराहरू हुनु आवश्यक छ । तर, पार्टीमा कुनै छलफल नगरी हठात् राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको छ । यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेबारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजनलाई सहज तुल्याउँदै विभाजित भई गठन हुने दललाई राष्ट्रिय दलको मान्यता दिने प्रावधान ल्याएको छ । यो प्रावधान विगतमा राजनीतिक दलहरूले गम्भीर छलफल र सहमतिपश्चात् देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल रोक्ने र जतिसुकै सानो दललाई पनि राष्ट्रिय दलको मान्यता दिएर पार्टीमा विभाजनको कार्य प्रोत्साहित भई लोकतन्त्र नै कमजोर हुने स्थिति आउन नदिने गरी बनाएको कानुनको भावना र उद्देश्य विपरीत छ । पार्टी केन्द्रीय समितिका सदस्यको परिभाषासमेत परिवर्तन गरी अध्यादेशमा निहित स्वार्थ प्रतिबिम्बित भएको छ ।

यस्तो संशोधनले राजनीतिक दललाई पुनः अराजक, अस्थिर र सत्ताको फोहोरी खेल तथा राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने पुरानै स्थितितर्फ धकेल्न सक्नेतर्फ  चिन्तित हुनुपर्ने अवस्था आएको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरै सम्पन्न भइनसकेको स्थितिमा विभाजनको मनोविज्ञान सिर्जना हुन सक्ने खतरा देखिएको छ । त्यस्तै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेशले संवैधानिक निकायहरूलाई गरिमायुक्त र राष्ट्रिय हितमा प्रतिबद्ध तुल्याउने उद्देश्यबाट संवैधानिक परिषद्का निर्णयहरूलाई सर्वस्वीकृत बनाउन र सन्तुलन कायम गर्न विपक्षी दलका नेतासमेत अनिवार्य रूपमा रहने प्रावधान हटाएको छ ।

यसबाट संवैधानिक परिषद्ले स्वतन्त्र संरचनाको रूपमा रहेर राष्ट्रिय दृष्टिकोणका साथ काम गर्नुपर्ने संविधानको मर्म र उद्देश्यविपरीत त्यसलाई सरकार अधीनस्थ कार्यालयमा परिणत गर्न सक्ने देखिन्छ । यसरी अध्यादेशले राजनीतिक प्रणाली तथा संविधानको मर्ममा आघात पुग्ने  देखिन्छ । राजनीतिक दलहरूका साथै आमजनतामा आशंका र अन्योल उत्पन्न भएको छ । अतः यस्तो असामयिक, असान्दर्भिक र अनुपयुक्त अध्यादेश तुरुन्त फिर्ता गरी पार्टीहरू र जनतालाई महामारीका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्ने कुरामा विश्वस्त पारिनुपर्दछ ।
 
यस्तो विषम र चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टीका घोषित सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम, विधि र पद्धतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी एकतालाई बलियो बनाउन तथा कोराना विषाणुको संक्रमणबाट आफू बाँच्न र जनतालाई बचाउन यथाशक्य योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई आह्वान गर्नुपर्ने आवश्यकता छ । यसका साथै पार्टीको  एकता र सशक्त भूमिकाका लागि पार्टी पंक्तिलाई आश्वस्त तुल्याउन हार्दिक आग्रह गर्दछौँ ।  
 
देश र जनताका सामु आएको कोरोना विषाणुको संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरू तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा नै असर पार्ने कानुन संशोधन गर्ने अध्यादेशजस्तो संवेदनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनुपर्दछ । यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान, २०७५ को धारा ५९ बमोजिम स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दर्छौं । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौँ ।
 
उपर्युक्त विषयहरूलाई आत्मसात् गर्न पार्टी अध्यक्षद्वयलगायत केन्द्रीय सचिवालयका सबै कमरेडहरूको हामी गम्भीर रूपमा ध्यान आकर्षण गर्न चाहन्छौँ । हामीले प्रस्तुत गरेका राष्ट्रिय महत्वका विषयहरूमा पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधानलाई सहज तुल्याउने एवं हाम्रो पार्टीप्रतिको जनविश्वासलाई बलियो बनाउनेतर्फ कमरेडहरूबाट पहल हुने अपेक्षा गरेका छौँ ।
धन्यवाद ।

हार्दिक अभिवादनसहित ।
 
स्थायी कमिटीका सदस्यहरू
 
क्रम संख्या    नाम    हस्ताक्षर
१.    अष्टलक्ष्मी शाक्य    
२.    गणेश साह    
३.    गोकर्ण विष्ट    
४.    चक्रपाणि खनाल    
५.    जनार्दन शर्मा    
६.    टोपबहादुर रायमाझी    
७.    देवप्रसाद गुरुङ    
८.    देवेन्द्र पौडेल    
९.    पम्फा भुसाल    
१०.    बेदुराम भुसाल    
११.    भीमप्रसाद आचार्य    
१२.    भीमबहादुर रावल    
१३.    मणिचन्द्र थापा    
१४.    मातृकाप्रसाद यादव    
१५.    मुकुन्द न्यौपाने    
१६.    युवराज ज्ञवाली    
१७.    रघुजी पन्त    
१८.    लीलामणि पोखरेल    
१९.    सुरेन्द्रप्रसाद पाण्डे    
२०.    हरिबोलप्रसाद गजुरेल  
 

प्रतिक्रिया दिनुहोस