कोरोना कहर

विश्वमै गम्भीर अनिकाल र भोकमरीको जोखिम बढ्दै : संयुक्त राष्ट्र संघ

बुधबार, १० बैशाख २०७७, १० : ०९
विश्वमै गम्भीर अनिकाल र भोकमरीको जोखिम बढ्दै : संयुक्त राष्ट्र संघ

एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाइरसकै कारण विश्वमा गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढुदै गएको छ । संयुक्त राष्ट्र संघले कोरोना भाइरसकै कारण यस्तो उच्च जोखिम बढन सक्ने भन्दै चेतावनी दिएको छ । 

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेईले भोकमरीका कारण उत्पन्न हुने गम्भीर दुर्घटना वा विनाशबाट जोगिनका लागि तत्काल उपयुक्त प्रयासको खाँचो रहेको बताएका छन् । विश्वभर भोकमरीका कारण समस्यामा पर्नेको संख्या १३ करोड ५० लाखबाट बढेर २५ करोड भन्दा बढी पुग्ने आँकलन गरिएको पनि संयुक्त राष्ट्र संघले जनाएको छ । 

डब्लुएफपीका अनुसार भोकमरीका कारण सबैभन्दा बढी प्रभावित हुने १० देश छन्, जुन देशमा द्वन्द्व, आर्थिक संकट र जलवायु परिवर्तनको प्रभाव अधिक परेको छ । ग्लोबल रिपोर्ट अन फुड क्राइसिसको चौथो वार्षिक प्रतिवेदनमा यमन, प्रजातान्त्रिक गणतन्त्र कंगो, अफगानिस्तान, भेनेजुएला, इथियोपिया, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हाइटीलाई भोकमरीको सबैभन्दा उच्च जोखिममा रहेका देशको सूचिमा राखिएको छ ।

कोरोना भाइरसको महामारी पूर्व पनि पूर्वी अफ्रिका र दक्षिण एसियाका देशहरुले खाद्यान्न अभावको गम्भीर संकट भोगेका थिए । यी क्षेत्रमा खडेरी तथा केही दशक यताकै सबैभन्दा ठूलो सलह महामारीका कारण खाद्यान्नको संकट उत्पन्न भएको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भिडियो कन्फ्रेन्स मार्फत भएको बैठकमा सम्बोधन गर्दै डब्लुएफपीका प्रमुख डेविडले सम्भावित गम्भीर अनिकाल विरुद्ध विश्वले अति तीव्र तर बुद्धिमतापूर्ण ढंगले काम गर्नु पर्ने बताए ।

केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउने सक्ने उनले बताए । एकीकृत प्रयास र सहकार्यले कोभिड–१९ को विश्वव्यापी महामारीलाई मानवीय तथा खाद्य संकटको विकराल रुप बन्नबाट जोगाउन सकिने उनले उल्लेख गरेका छन् । डब्लुएफपीका प्रमुख डेविड आफै पनि कोभिड–१९ को संक्रमणबाट हालै मुक्त भएका हुन्। कोरोना भाइरसको महामारी अन्त्य गर्न सबैको हातेमालो पनि जरुरी भएको उनले औंल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस