दश एसएसपीले डिआईजीको फूली लगाए : यस्ता छन् ति अनुहार

सोमबार, ०८ बैशाख २०७७, १७ : ५४
दश एसएसपीले डिआईजीको फूली लगाए : यस्ता छन् ति अनुहार

काठमाडौं । दश जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले आज प्रहरी नायब महानिरीक्षक (डीआईजी)को फूली लगाएका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहले फूली लगाइदिएका हुन् ।

यही वैशाख ७ गते मन्त्री स्तरको निर्णयले उनीहरुलाई डिआईजीमा बढुवा गरेको हो । 

गृहमन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले गत चैत २१ मा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेको थियो ।

 फूली लगाउनेमा धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुलबहादुर थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबू कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रवीन्द्रसिंह धानुक र अरुणकुमार बिसी छन् ।

गृहसचिव न्यौपानेको अध्यक्षतामा हुने बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव थिए । 

सोही अवसरमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको २०७६ चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गरे । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिमेवारीहरु एवम् संगठनका नीतिहरु पुरा गर्ने आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए । कोरोना संक्रमणको समयमा अझै जिम्मेवारी गहन बनेको भन्दै उत्कृष्ट सेवा प्रदान गर्न उनले अनुरोध गरेका छन् । 

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटि जाने प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा उनले जोड दिए ।