न्यूयोर्क । कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप न्यूयोर्कमा लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्रू कोउमोले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।
अब न्यूयोर्कमाविवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। सम्बन्धित अधिकारीहरूले पनि विवाहको 'भर्चूअल' कार्यक्रम सञ्चालन गर्न पाउनेछन्।
अनलाइन विवाहबारे निर्णय गरिसकेपछि कोउमोले ठट्टा गर्दै अब विवाह नगर्न "कुनै बहाना नभएको" बताएका थिए।
"तपाईँ 'जूम'बाटै गर्न सक्नुहुन्छ। हो कि होइन?" शनिवार उनले भने।
आगामी मे १५ तारिखसम्म न्यूयोर्कमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने निर्णय भएसँगै यस्तो कदम चालिएको हो। कोरोनाभाइरसको सङ्क्रमणका कारण हालसम्म न्यूयोर्कमा १४,००० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
सामाजिक सञ्जालमा भने विवाहसम्बन्धी उक्त निर्णयबारे मिश्रित प्रतिक्रिया देखिएको छ।
परिवारका सदस्य तथा इष्टमित्र सहभागी हुन नसक्ने अवस्थामा विवाह समारोह आयोजना गर्ने विचार किन गर्ने भन्दै कतिपयले प्रश्न सोधेका छन्।
अन्य निर्णयलाई प्राथमिकतामा राख्न नसकेको भन्दै गभर्नरको आलोचना पनि भएको छ।
तर केहीले भने महामारीका बेला विवाहले स्वास्थ्य बीमाबाट व्यावहारिक लाभ हुन सक्ने औँल्याएका छन्।
कानुनी रूपमै विवाह सम्पन्न गराउन इन्टरनेटको सहायता लिने स्थानमा न्यूयोर्क मात्रै छैन।
संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि आफ्ना देशका नागरिक तथा त्यहाँ बस्दै आएका व्यक्तिले अनलाइन मार्फत विवाह गर्न पाउने घोषणा गरेको छ।
यस्तै किसिमको व्यवस्था अर्को अमेरिकी राज्य कोलराडोमा पनि लागु गरिएको छ। त्यहाँ जोडीहरूलाई विवाहका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको छ। - बीबीसी
 
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज