भारतमै अड्कियो नेपालको रेल

पत्रपत्रिकाबाट

सोमबार, ०८ बैशाख २०७७, ०६ : ५४
भारतमै अड्कियो नेपालको रेल

काठमाडौं । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मि श्रले जानकारी दिए।

रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो। उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन। रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ। लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ।’ लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ। नेपाल भित्रिने रेलका लागि डेडिकेटेड लाइन उपलब्ध हुने हो भने २ देखि ३ दिन भित्रमा आइपुग्छ। तर, भारतीय रेल गुड्ने समयमा नेपालको रेलले ट्रयाक ओगट्न पाउँदैन। ट्रयाक खाली भएको समयमा गुडाउनु पर्ने भएकाले रेल भित्रिन केही समय लाग्ने देखिएको छ।

रेल नेपाल भित्रिए लगत्तै सञ्चालनमा भने आउने छैन। रेल सञ्चालनका लागि नेपालको तर्फबाट कानुनी, प्राविधिक तथा कर्मचारीको व्यवस्था हुन बाँकी छ। सञ्चालन पूर्व रेल नेपालकै भूभागमा पर्ने जनकपुर वा कुर्थामा राखिने मि श्रले बताए। यी दुई मध्ये सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने स्थानमा राखिनेछ।

‘रेल गुड्ने ट्र्याक तयारी अवस्थामा छ। तर, रेल हाक्ने ड्राइभर छैन। स्वदेशी प्राविधिक जनशक्तिका लागि दरखास्त आवेदन माग गरेका थियौं। त्यहाँ एउटा पनि आवेदन परेको छैन’, मि श्रले भने, ‘विदेशी कामदारका लागि आवेदन माग गर्नुपर्नेछ।’ विभागले फागुन ९ गते रेल सञ्चालन गर्न तत्कालक आवश्यक पर्ने २६ जना स्वदेशी कर्मचारीका लागि आवेदन माग गरेको थियो। लकडाउनले गर्दा विदेशी कर्मचारीको आवदेन माग गर्न सकिएको छैन।

सरकारले कुर्था–जनकपुर–जयनगर ३४ किलोमिटर खण्डमा रेल सञ्चालन गर्न २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्घान्तिक सहमति प्रदान गरेको थियो। २०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो। नेपालले सम्झौताअनुरूप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा निर्दोष घोरसाइनेले लेखेका छन् ।