स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेका टेकु अस्पतालका डा. शेरबहादुर पुन आज जवाफ बोकेर मन्त्रालय जादैं

आफनो बदमासी छोप्न डा. पुनलाई स्पष्टिकरण सोधिएको भन्दै चिकित्सकहरु नै सरकारसँग असन्तुष्ट

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०७७, ०९ : ४३
स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेका टेकु अस्पतालका डा. शेरबहादुर पुन आज जवाफ बोकेर मन्त्रालय जादैं

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ वर्षदेखि करारमा सेवा गरिरहेका डाक्टर शेरबहादुर पुनलाई सरकारले ‘स्पष्टीकरण मागेर पत्र पठाइपछि उनले त्यसको जवाफ आज दिने तयारी गरेका छन् । सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गर्दै स्पष्टिकरण सोधेको हो ।

उनलाई मन्त्रालयले फोन गर्दा फोन नउठाएको, अनावश्यक रुपमा सञ्चारमाध्यमहरुमा भने बोल्दै र लेख्दै हिडेको भनी मन्त्रालयले स्पष्टिकरण सोधेको छ । शुक्रबार पत्र पाएपछि उनी हिजो   शनिबार भएकोले त्यसको जवाफ दिनका लागि आज मन्त्रालय जाने तयारीमा छन् ।

‘हो म आज मन्त्रालयमा गएर आफना कुरा राख्ने तयारीमा छु, उहाहरुले सोधको सवै जवाफ दिन जानेछु,’ डाक्टर पुनले भने ।

उनी यस्ता डाक्टर हुन्, जसले कोरोनाका विषयमा राम्रो दख्खल राख्छन् । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनु पर्ने बेलामा सरकारले डाक्टर पुनमाथी स्पष्टिकरण सोधेपछि उनीमाथी सरकार पूर्वाग्रही भएर लागेको अनुभव टेकु अस्पतालका चिकित्सकहरुले गरेका छन् । सामाजिक सन्जालहरुमा पनि सरकारले पुनलाई स्पष्टिकरण सोधेको समाचार सार्वजनिक भएसँगै सरकारको निक्कै ठूलो आलोचना भईरहेको छ ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेका थिए । त्यही वेला स्वास्थ्य मन्त्रालयमा भने डाक्टर पुनलाई त्यहावाट कसरी हटाउने र मन्त्रालयमा तान्ने भन्नेमा छलफल चल्यो । उनी पिपिई लगाएर टेकुमा विरामीको उपचारमा खटिरहेका थिए । त्यस्तो वबेला उनले फोन उठाउन सम्भव थिएन । त्यही बेला मन्त्रालयले उनलाई तारन्तार फोन गरेर मन्त्रालयमा स्पष्टिकरणका लागि बोलाउन चाहेको थियो । तर उनले फोन उठाएनन । विरामीको उपचारमा संग्लन्न रहीरहेकै बेला त्यसमा पनि फुल पिपिई लगाएर उपचारमा खिटएका बेला फोन उठाउन सम्भव पनि थिएन । अहिले स्वास्थ्य मन्त्रालयले यसैलाई आधार बनाएर पुनमाथी स्पष्टिकरण सोधेको छ । मन्त्रालयमा  बोलाएको छ ।

‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’तर उपचारमा संग्लन्न भएकोले सम्भव भएन । त्यसपछि मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले सफलखबरसँग भने, –‘आज आइतबार मन्त्रालय जान्छु, आफना कुरा राख्छु ।’

कोरोनाको महामारीसँग जुध्दै गर्दा स्वास्थ्य मन्त्रालयले किन पुनमाथी स्पष्टिकरण सोध्यो ? अहिले यस वारेमा न पुनलाई नै राम्रासँग जानकारी छ, न अन्यलाई नै । तर जानकारहरु भन्छन्, स्वास्थ्य खरिद प्रकरणमा भएको आर्थिक घोटला देखि , ओम्नीले खरिद गरी ल्याएका स्वास्थ्य सामाग्रीको विश्वसनियता सम्मका विषयमा निरन्तर डा पुनले खबरदारी गदै आएका थिए । आफनो बदमासीको ढाकछोपका लागि डाक्टरकै मुख  थुन्ने योजनामा सरकार लागिपरेकोले पुनमाथी स्पष्टिकरण सोधेको हुनसक्ने जानकार चिकित्सकहरुले अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस