कोरोना संक्रमितको बयानमै सन्देह, किन लुकाउछन् वास्तविक तथ्य

आइतबार, ०७ बैशाख २०७७, ०७ : ५७
कोरोना संक्रमितको बयानमै सन्देह, किन लुकाउछन् वास्तविक तथ्य

काठमाडौँ । उदयपुरको एक मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपालीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको विराटनगरको कोसी अञ्चल अस्पतालको आइसोलेनमा उपचार भइरहेको छ ।
गत मंसिर २५ मा भारतबाट जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका संक्रमित ११ भारतीयले मोरङका विभिन्न स्थानका मस्जिदमा बसेको बयान प्रहरीलाई दिएका छन् ।

संक्रमितमध्ये एक नेपाली मुस्लिम मोरङका बासिन्दा भएको पनि खुलेको छ । उनीहरू फागुन २५ मा उदयपुरको सिवाइस्थित मस्जिदमा गएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मंसिर २५ मा जोगबनीबाट नेपाल भित्रिएका भारतीयहरू मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा बसेर पाँच साताअघि उदयपुर प्रवेश गरेका थिए ।

सुरुमा सिवाइस्थित मस्जिदमा बसेका उनीहरू त्यसपछि त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा सरेका थिए । केही साता त्यहाँ बसेपछि त्रियुगा नगरपालिकामा पर्ने एक मस्जिदमा उनीहरू सरेका थिए । शुक्रबार भुल्केस्थित मस्जिदमा भेटिएका १२ जनालाई प्रहरी र स्वास्थ्यकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो तर ‘मंसिर २५ मा नेपाल भित्रिएका हौं’ भन्ने उनीहरूमा कसरी संक्रमण देखियो भन्नेमा चिकित्सकहरू नै आश्चर्यमा परेका छन् । ट्राभल हिस्ट्री खोजिरहेको प्रहरीले पनि संक्रमितको बयान नै भरपर्दो नभएको शंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढा संक्रमण देखिएकाले सूक्ष्म रूपमा बयान लिन नपाएको र चिकित्सकहरूसँग समन्वय गरेर थप बुझ्ने काम भइरहेको बताउँछन् तर प्रारम्भिक सोधपुछका क्रममा संक्रमित ११ जनाले आफूहरू नेपाल आएपछि मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा बसेको बयान दिएको उनले बताए ।

‘सोधपुछ र अहिलेसम्मको अनुसन्धानमा संक्रमितहरूले जोगबनी नाकाबाट मंंसिर २५ गते नेपाल आएर मोरङ, सुनसरी, सप्तरी र उदयपुरका मस्जिदमा घुमेको देखिन्छ,’ एसपी बुढाले भने, ‘५र६ हप्ता मोरङ, त्यसपछि केही साता सुनसरी हुँदै सप्तरीको फत्तेपुरबाट उदयपुर आएको स्वयंले उनीहरू मोरङ, सुनसरी सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा बसेको बयानमा पनि भनेका छन् तर हामी कन्टयाक ट्रेसिङलगायत अन्य प्राविधिक अनुसन्धान पनि गरिरहेका छौं ।’ बयानमा उनीहरूले गत फागुन ३ मा सप्तरीमा आयोजित मुस्लिम सम्मेलन इज्तमामा पनि सहभागी नभएको दाबी गरेका छन् तर उनीहरूको यस्तो दाबीबीच यो अवधिमा उनीहरू सप्तरी र सुनसरी नै रहेको प्रहरीको ठहर छ ।

यसअघि वीरगन्जको एक मस्जिदबाट नियन्त्रणमा लिइएका कोरोना संक्रमित तीन भारतीय पनि जोगबनीबाटै पुस २ मा नेपाल प्रवेश गरेको खुलेको थियो तर उनीहरूले मुस्लिम सम्मेलनमा सहभागी भएर रौतहट हुँदै पर्सा पुगेको बयान दिएका थिए । उदयपुरमा भेटिएका संक्रमितले सप्तरीको मुस्लिम सम्मेलनमा भाग नलिएको बताएका छन् तर प्रहरीले उनीहरू नेपाल आएर पुनस् दिल्ली फर्किएको र त्यसपछि फेरि नेपाल आएको शंकामा ट्राभल हिस्ट्री खोजिरहेको छ ।

मोरङका एसपी विश्व अधिकारीले पनि संक्रमितहरू कुन कुन ठाउँमा गए भन्नेमा अनुसन्धान भइरहेको बताए । मोरङबाटै अरू जिल्ला गएको देखिएकाले सम्बन्धित जिल्लास्थित प्रहरीसँग समन्वय गरेर संक्रमितले कहाँ गए र ककसलाई भेटे भन्नेमा खोजबिन भइरहेको जानकारी उनले दिए । कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस