कोरोना भाइरस (कोभिड–१९)

नेपालमा भारतीय संक्रमणको उच्च खतरा, नेपाली जोगाउन सबै नीति लागु गर्न जरुरी

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०७७, १४ : २३

काठमाडौँ । भारतमा उच्च दरले कोरोना भाइरस फैलदै गर्दा नेपालमा त्यसको चाप पछिल्लो समय ह्वात्तै बढेको छ । शुक्रबार सार्वजनिक भएको कोरोना भाइरस संक्रमणको तथ्यले यसको सहजै पुष्टि गर्छ । शुक्रबार बिहानसम्म १६ जना संक्रमित रहेको नेपालमा साँझ एक्कासी थपिएको १४ जना संक्रमितका कारण संख्या दोब्बर हुन पुग्यो । यसले नेपालका अस्पताल र आइसोलेसनमा भारतीय नागरिकको चाप बढाएको छ । यसरी भारतीय संक्रमितको चाप नेपालमा बढ्दै जाँदा भोली नेपाली नागरिकमा संक्रमण भएमा तिनको उपचार समेत प्रभावित हुने देखिएको छ । 
स्रोत,साधन र अर्थमा त्यसैपनि कमजोर रहेको नेपालले तत्काल सीमाक्षेत्रमा कडाइ गर्ने सबैथरी उपाय नअपनाउने हो भने नेपाल भारतीय नागरिकको उपचार गर्ने थलो नबन्ला भन्न सकिन्न । 

पूर्वि नेपालको उदयपुर स्थित एक मस्जिदमा लुकेर बसेका १६ जनामध्ये १२ लाई संक्रमणकोृ पुष्टि भएको हो । त्यस्तै चितवनका दुइजनामा पनि कोरोना संक्रमणको पुष्टि भयो । उनीहरु यतिबेला विराटनगरको कोरोना विषेष अस्पतालमा उपचाररत छन् । बाँकी ४ ना क्वारेन्टाइनमा छन् । जसमध्ये मात्र १ जना नेपाली नागरिक छन् । अन्य ११ जना भारतीय नागरिक छन् । 
लुकिछिपी खुला नाकाबाट नेपाल छिरेका उनीहरु कोरोनाको संक्रमणबाट बच्नकै लागि नेपाल भित्रिएको आशंका गरिएको छ । कोरोना देखिएका सबै पुरुष छन् । ति मध्ये ४ जना २८ बर्षका छन् । २ जना २९ र अन्य ३४ देखि ३० बर्ष उमेरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनका देखिएको दुई कोरोना संक्रमित पनि नेपालमा बसिरहेका नभई विदेशबाट आएका आमा छोरा रहेका छन् । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि भारतीय सीमानाकाबाट अत्यधिक मानिस आइरहेको उल्लेख छ । उदयपुरको पछिल्लो घटनापछि सुदुरपश्चिममा ठूलो संख्यामा भारतबाट नेपाली र भारतीय प्रवेश गरिसकेको छ । जसले संक्रमण बढाएको खण्डमा त्यसक्षेत्रका तत्काल माहामारी फैलनेसक्ने सम्भावना उच्च छ । जसको नियन्त्रणका लागि ३४ चिकित्सक र स्वास्थ्यकर्मीको जम्बो टोली नै त्यसतर्फ पठाउन सरकार वाध्य बन्यो । 

सरकारले पछिल्लो समय लकडाउन कायम राखेर कोरोना भाइरसको केस म्यानेजमेन्छ, कन्ट्याक्ट ट्रेसिङ, पहिचान र सूचना सार्वजनिकको एकद्वार नीति अपनाएको छ । सीमा क्षेत्रमा २२ हजार शसस्त्र प्रहरी परिचालन पनि गरेको छ । तथापी लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या घटेको छैन् । जसका कारण यहाँका स्थानीयमा कोरोना संक्रमण एकजनामात्र रहेको अवस्थालाई वृद्धि गर्न बढावा दिइरहेको छ । धनगढीको एक महिलामा सरेको कोरोना नेपालको दोस्रो चरण प्रवेशको एकमात्र सूचक हो । 

मन्त्रालयका अनुसार हालसम्म पिसिआरमार्फत ७ हजार ६८८ र आरडिटि मार्फत १६ हजार ५६५ जनाको परिक्षण भएको छ । विदेशमा काम गर्न गएकाहरु फर्किआएपछि घरमै बसेका तथा भारतबाट फर्केकामध्येबाटै हालसम्म संक्रमण बढि पाइएको प्रवक्ता डा.विकास देवकोटा बताउछन् । उनका अनुसार उपत्यकामा ५ र बाहिर ८५ गरी ९० जना आइसोलेसनमा रहेमा छन् । काठमाडौँ सहित देशका १४ स्थानमा पिसिआर परिक्षण चलिरहेको छ । र्यापिड टेस्ट भने ७४ जिल्लामा सञ्चालित छ । 

यसरी धमाधम परिक्षणको रिपोर्ट आउँदा देशभित्र रहेका भन्दा बाहिरबाट आएकाले कोरोना संक्रमण देश भित्र्याउँदै अन्यमा सार्ने जोखिम बढाएको देखिन्छ । 
बढिजसो बिहार, उत्तराखण्डबाट नेपालमा सोझै भित्रने अनगिन्ति चोरबाटो छन् । जसको हेक्का सीमा नाकामा रहेका शसस्त्र प्रहरीलाई छैन् । भारतमा एकैदिन हिजोमात्र एकै दिन ४३ जनाको मृत्यु भएको छ । यस घटनासँगै त्यहाँ कोरोनाबाट मरिन्छ भन्ने त्रास बढेको छ । जसका कारण त्यसबाट बच्न सहज रुपमा नेपाल भित्रने उपाय त्यहाँका बासिन्दाले अपनाइरहेका छन् । नातागोता इष्टमित्र भएकाहरु तिनकै घरमा र नभएकाहरु मन्दिर, मस्जिद जस्ता स्थानमा लुकिछिपी बस्न थालेका पाइन्छन् । 

भारत सरकारले सीमा क्षेत्रका स्थानका आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन नसक्दा पनि यो चाप नेपालले खेप्नु परेको विश्लेषक बताउँछन् । 
लकडाउनमा जहाँ छन् त्यहीको सरकारले रेखदेख गर्ने विश्वस्वास्थ्य संगठनको मापदण्ड नेपाल भारत सीमानामा खुल्ला रुपले उल्लंघन भैरहेको छ । फेला पारिएका केही नागरिकलाई क्वारेन्टाइनमा राखेर हेरचाह गरिएको भएपनि लुकेर आउनेले ल्याएको संक्रमणको मार नेपालभित्र रहेका बासिन्दामा पर्ने खतरा बढेको छ । यो क्रम रोक्न नेपालले अब साम, दाम , दण्ड, भेदको नीति अपनाउन आवश्यक रहेको विश्लेषक उल्लेख गर्छन् । जस अनुसार सीमा नाकाका सम्भावित चोरबाटोमा सुरक्षाकर्मी र हेल्थ डेस्क स्थापना गर्न जरुरी भएको छ । साथै कूटनीतिको उच्चतम प्रयोग गरी नेपालमा संक्रमण भित्रन नसक्नेतर्फ भारतलाई सचेत गराउनुपर्ने देखिन्छ । यसका लागि नेपालले तत्काल यसबारेमा अवगत गराउदै भारतलाई कूटनीतिक पत्र लेखेर सावधान गराउँदै आफ्ना नागरिकको स्वास्थ्यको ख्याल राख्न अपिल गर्नुपर्ने देखिन्छ । नत्र मौखिक रुपमा भएका कुराकानीले हुन्छ र गर्छौ भन्ने मौखिम सहमतिले कोरोना संक्रमण भारतबाट नेपालमा ह्वात्तै पसेर विनास गर्न सक्छ । 

भारतमा हालसम्म १४ हजार ४२४ जना संक्रमित भएका छन् । जसमध्ये ४८८ जनाको मृत्यु भैसकेको छ । विगत २४ घण्टामा ७५ वटा नयाँ संक्रमित भेटिएका छन् । 
विश्वमा भने यतिबेला २१३ देशमा २२ लाख ५१ ह्जार ७६८ कोरोना संक्रमित छन् । जसमध्ये १ लाख ५४ हजार २९५ को ज्यान गएको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको फैलावटसँगै यसको संक्रमणको दर विश्वका हरेक देशमा बढ्दो रहेको छ । कोरोना भाइरसको सातौ प्रजातिका रुपमा विकसित कोभिड–१९ नाम दिइएको यस भाइरसको रोकथामका लागि पत्यारियो उपचार पद्दती र औषधी तथा खोप प्रामाणिक रुपमा आउन सकेको छैन् । वन्यजन्तु तथा समुद्री माछाबाट सरेको अनुमान गरिएको छ । तर कुनबाट भन्ने प्रष्ट भैन ।