निषेधित गतिविधि बढेपछि चितवन राष्ट्रिय निकुञ्जको सरक्षा व्यवस्था कडा

विहीबार, ०४ बैशाख २०७७, १६ : ५४
निषेधित गतिविधि बढेपछि चितवन राष्ट्रिय निकुञ्जको सरक्षा व्यवस्था कडा

भरतपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा उठाउनेहरु पनि प्रशस्तै छन् । लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरु हुन थालेका छन् । 

    चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरु बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ । लकडाउनको समयमा आममानिसहरु घरभित्रै बसिरहेका बेला केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रुपाखेतीले बताउनुभयो  । 

    उहाँका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब २ सय जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको छ । पक्राउ पर्नेमा एक जना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्ति समेत छन् । सुनसानको मौका छोप्दै निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा माछा मार्ने र निकुञ्जमा संरक्षित घासहरु काट्न आउनेहरु बढेको उहाँले बताउनुभयो । “लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरुको सङख्या बढेको छ”, उहाँले भन्नुभयो, “यस्तो शून्य समयमा तस्करहरु समेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौं ।” 

    लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीन वटा घडियाल गोही मारिएका थिए । निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनुभयो  । गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए । नारायणी र राप्तीमा २ सय ५० वटा घडियाल गोही छन् । गोही प्रजनन् केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्ने गरेको छ । बुधवार मात्रै निकुञ्जमा गैडा मृत भेटिएको थियो । “निकुञ्जमा रहेका अधिकांश कर्मचारी कार्यक्षेत्रमै खटिएका छन्”, उहाँले भन्नुभयो, “चौविसैं घण्टा विशेष निगरानी गरिराखेकै छौं ।”

    अहिले विभिन्न गतिविधि बढ्दै गएपछि विभिन्न विधिबाट गस्तीलाई थप सक्रिय बनाएको नेपाली सेनाको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले बताउनुभयो ।  (रासस)