कोरोनोको सन्त्रास देखाउदैं भारतले गर्यो मेची नाका सिल, आयात निर्यात ठप्प

विहीबार, ०४ बैशाख २०७७, ०९ : ५६
कोरोनोको सन्त्रास देखाउदैं भारतले गर्यो मेची नाका सिल, आयात निर्यात ठप्प

file Photo

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस फैलिने सन्त्रासले भारतले नेपालको पूर्वी नाकाबाट हुने आयात निर्यात ठप्प बनाएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । 
‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार प्रमुख ध्रुवराज विश्वकर्माको भनाई छ । उनका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् ।

नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन समेत दिएका छन् ।  भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।  लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै हुने गरेको छ । 

यसै बिच कुटनितिक पहलबाट नाका खुलाउन प्रयास थालिएको छ । केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस