काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो ।
तर, काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिको नतिजाले १४ दिनपछि पनि संक्रमण देखिन सक्ने पुष्टि गरिदिएको छ । अपार्टमेन्टमा बस्ने आमा–छोरालाई होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि कोरोना पोजेटिभ देखिएको छ, त्यो पनि कुनै लक्षणविना ।
उनीहरू ४ चैतमा लन्डनबाट फर्किएका थिए । २५ दिनसम्म कुनै लक्षण नदेखिएपछि उनीहरू संक्रमण नभएकोमा ढुक्क थिए । तर, कागेश्वरी मनोहरा नगरपालिकाले उनीहरूसहित विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरेर सोमबार मुलपानी स्वास्थ्य चौकीमा र्यापिड टेस्ट गरेको थियो । र्यापिड टेस्टमा आमा, छोरा र बुहारीको नतिजा पोजेटिभ आएको थियो । त्यसपछि तत्काल उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरेर पिसिआर टेस्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब पठाइएको थियो ।
मंगलबार आएको नतिजा आमा–छोराको पोजेटिभ देखिएको छ, बुहारीको भने दोस्रोपटक पिसिआर परीक्षण गरेर मात्रै नतिजा सार्वजनिक गर्ने तयारी छ । संक्रमित आमा ८१ वर्षको र छोरा ५७ वर्षको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५ दिनपछि पनि पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरू अनुत्तरित बनेका छन् । उनीहरूले १४ दिन क्वारेन्टाइन बसेर मात्रै संक्रमणबाट जोगिन नसक्ने निष्कर्ष निकालेका छन् ।
त्यस्तै, सरकारले सनसिटी अपार्टमेन्टमा बस्ने पाँच सय परिवारका सबैको नमुना संकलन थालेको छ । अपार्टमेन्टमा बस्ने सबैको नमुना संकलन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी पनि सुरु भएको बताए । सरकारले सातवटै प्रदेशमा र्यापिड टेस्ट ट्रायल गरिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै १३ सय १३ नमुना र्यापिड किटमार्फत परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पिसिआर प्रविधिमार्फत पाँच सय ८४ नमुना परीक्षण भएका छन् । हालसम्म देशभर र्यापिड किट र पिसिआरमार्फत १२ हजार नौ सय ६ नमुना परीक्षण भएको छ ।
र्यापिड टेस्टमा काभ्रेमा दुई र धादिङमा एकको नतिजा पोजेटिभ
र्यापिड टेस्टमा काभ्रे र धादिङमा तीनजनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार भएको परीक्षणमा काभ्रेमा दुई र धादिङमा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय युवकलाई संक्रमण देखिएको मेयर टोपबहादुर वाइबाले बताए । उनी ७ चैतमा दुबईबाट आएका थिए ।
२२ दिन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिएपछि उनी घर गएका थिए । अर्का संक्रमित बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक हुन् । संक्रमित युवक ९ चैतमा भारतबाट फर्किएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद तिमल्सिनाले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस