गैँडाकोट । जंगलमा एक मुठा सालको झिँजा वा सालको पात टिप्न गयो भने मान्छे समाउने वन कार्यालयका कर्मचारीहरुले विशाल सालका रुख ढलाउनेहरुलाई पक्राउ गर्न सकेको छैन । भन्दा अनौठो लाग्न सक्ला, तर अब अनौठो नमान्दा हुन्छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ११ मा पर्ने भेडाबारी सामुदायिक वन र वडा नम्बर १८ मा पर्ने बराहदेवी राष्ट्रिय वन क्षेत्रको सिमानाहँुदै लगिएको कच्ची सडकको दायाँबायाँका ४६ वटा सालका रुख ढलाइएका छन् तर आजसम्म रुख ढलाउनेहरुलाई कानुनी दायरामा ल्याउन डिभिजन वन कार्यालय नवलपुरले प्रयास गरेको देखिएको छैन ।
एउटा होइन, दुईवटा होइन, ४६ वटा सालका रुख ढलाइएका छन् । त्यो पनि हरिया । रुख काट्ने काममा संलग्न रहेको भन्दै गैँडाकोट वडा नम्बर १८ का अध्यक्षसहित केही स्थानीयवासीविरुद्ध भेडाबारी सामुदायिक वनले जाहेरी समेत हालेको बताएको छ । तर वनका अधिकारीहरु एकले अर्कालाई जिम्मा लगाउँदै यो घटना छिपाउने षडयन्त्रमा लागेको केहीले गुनासो गरेका छन् ।
गैँडाकोट वडा नम्बर १८ का अध्यक्ष तिलबहादुर चितौरे हुन् । उनकै उक्साहटमा यस्तो भएको सामुदायिक वनको आरोप छ । चितौरेसहितका अन्यलाई जोगाउन नेपाली काँग्रेस नवलपुरका प्रदेशदेखि केन्द्रीय नेता तथा सांसदहरु लागीपरेको आरोप लागेको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख पूर्णेश्वर सुवेदीले यो घटनाको अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकेको र उहाँले अनुसन्धान गरिरहनु भएको बताउनु भयो । सुवेदीले अहिले लकडाउनले गर्दा जाहेरी परेकाहरुलाई पक्राउ गरी ल्याउन नसकिएको गैरजिम्मेवार तर्क गर्नु भयो । उहाँले लकडाउनका कारण केही ढिला भएपनि दोषीले कुनै पनि हालतमा वन ऐन अनुरुपको कारबाही भोग्ने बताउनु भयो ।
जिल्ला सामुदायिक वन महासंघका अध्यक्ष ठाकुर पाण्डेले रुख काट्नेहरुका नाममा जाहेरी परिसक्दा पनि पक्राउ गर्न नसक्नु डिभिजन वन कार्यालयको ठुलो कमजोरी भएको बताउनु भयो । सम्बन्धित मानिसहरुलाई पक्राउ गरी अनुसन्धान गर्नुको साटो डिभिजन वन कार्यालयलका अधिकारीहरुले विभिन्न बहाना बनाएर यो घटनालाई साम्य पार्न खोजेको उहाँको आरोप छ ।
आफूले वनका अधिकारीसंग कुरा गर्दा ती मानिसहरुका लागि राजनीतिक संरक्षण भएको भनेर वनका अधिकारीहरुले भनेको उहाँले बताउनु भयो । अहिले ती मानिसहरुलाई तुरुन्त पक्राउ गरी सामाजिक दुरी कायम गरेरै भएपनि अनुसन्धान गर्नु पर्ने र दोषी देखिए कडा कारबाही गर्नु पर्ने उहाँको भनाई छ ।
जाहेरी परेको लामो समय बितिसक्दा पनि पक्राउ नगर्नुले राजनीतिक संरक्षणमा आपराधिक गतिविधि मौलाउने अवस्था देखिएको उहाँको भनाई छ । लकडाउनलाई बहाना बनाएर यस्तो घटनामा आलटाल गर्न नहुने उहाँ बताउनु हुन्छ ।
गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले गल्ती जसले गरेपनि त्यसलाई कानुनी कारबाही गनु पर्नेे बताउनु भयो । नगर प्रमुख पौडेलले भन्नुभयो, मेरो तर्फबाट कुनै संरक्षण छैन । बदमास भए मैलाई पनि, मेरो बुबाआमा जो भएपनि कारबाही हुनु पर्छ । यस्ता बिषयमा कसैले संरक्षण गर्छ भने त्यसको पतन हुने उहाँले बताउनु भयो ।
भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले डिभिजन वन कार्यालयले दोषीलाई कानुनी कारबाही गर्न ठोस प्रयास गरेको महसुस गर्न नपाएको बताउनु भयो । दोषीलाई जुनसुकै हालतमा कारबाही हुनु पर्ने उहाँ बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस