‘म सँग सबै राज्यको लकडाउन खोल्ने पूर्ण अधिकार छ’ : अमेरिकी राष्ट्रपति ट्रम्प

मंगलबार, ०२ बैशाख २०७७, १० : ५४
‘म सँग सबै राज्यको लकडाउन खोल्ने पूर्ण अधिकार छ’ : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन देशभरबाट फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गरेका हुन् । उनको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन् ।

ट्रम्पले ब्रिफिङ्गमा भने, ‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ ।’ पत्रकारसँग आक्रामक रुपमा प्रस्तुत भएका उनले राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार रहेको दाबी गरेका हुन् । अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरेको घरमै बस्नु पर्ने कडा नियम हटाउने तयारी गरेका छन् ।

अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा रहन्छ । यसको अर्थ राज्यका गभर्नरहरुमा अहिले लागु भएको लकडाउन वा सामाजिक दूरी सम्बन्धी नियमहरु कुन बेला फिर्ता लिने वा खुकुलो बनाउने भन्ने अधिकार हुने संवैधानिक कानूनका विज्ञले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म ६ लाख ८२ हजार ६१९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। यस्तै अहिलेसम्म २३ हजार ५२९ जनाको निधन भएको छ । संक्रमण तथा मृत्युमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई पुनः चलायमान बनाउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। कोरोना भाइरसका कारण अहिले अमेरिकी अर्थतन्त्र लगभग बन्द वा सुस्त अवस्थामा छ ।

तर पत्रकारहरुले राज्यहरुले लागु गरेको घरमै बस्नु पर्ने नियम फिर्ता लिने अधिकार राष्ट्रपतिमा हुन्छ र ? भन्ने प्रश्न गरेपछि ट्रम्प आक्रोशित भएका हुन् । उनले भने, ‘मसँग पूर्ण अधिकार छ, यो कुरा गभर्नरहरु पनि जान्दछन् ।’ राष्ट्रपति ट्रम्पको यो भनाईबाट धेरैले आश्चर्यव्यक्त गरेका छन । लकडाउन अमेरिका लागु गरिए पनि दिन प्रति दिन संक्रमण र मृत्यु बढ्दो क्रममा छ ।