अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु

सोमबार, ०१ बैशाख २०७७, २१ : ५६
अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु

file photo

वासिङटन । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।  देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो ।

अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो । मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।” उहाँले आँधीबाट पिडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिनुभयो ।  “आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेख्नुभएको छ ।

उहाँले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गर्नुभएको छ । पूर्वानुमान विभागले यस्तो आँधी आउनसक्ने अनुमान पहिले नै गरिएको बताएको छ । विभागले यस आधीलाई अपेक्षित नै भएको जनाएको छ ।  (एएफपी)

प्रतिक्रिया दिनुहोस