‘लकडाउन’ कोरोना संक्रमणको ‘शकडाउन’ नबनोस

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १५ : १२
‘लकडाउन’ कोरोना संक्रमणको ‘शकडाउन’ नबनोस

काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्था छ । विदेशबाट नेपाल भित्रिएको कोरोना भाइरस विदेशबाट आएकाबाट उसको आफन्तीमा सरेपछि यो चरणको सुरुवात भएको हो । दोस्रो चरणको लक डाउनको अवधिमा देखिएको यो संक्रमण अब स्थानीय तहमा फैलने अत्याधिक खतरा छ । 

अझ कुनै लक्षण नै नदेखिएको. अवस्थामा संक्रमणका पुष्टि हुनुले त्यो खालको संक्रमण कतिमा फैलियो भन्ने कुराको यकिन गर्न सकिएको अवस्था छैन् । त्यसको अवस्था पत्ता लगाउन सरकारले सुदुरपश्चिम र पश्चिमका केही भेगमो र्यापिड टेष्टको अवधारणा ल्याएको छ । तर त्यतिलेमात्र त्यसरी समुदायमा फैलिएको कोरोना भाइरस नियन्त्रण हुन सक्छ भन्न सकिदैन । लक्षणबीनाको संक्रमण सर्नु नेपालका लागि ‘लकडाउन’मा देखिएको ‘शकडाउन’जस्तै हो । त्यसैले पनि लकडाउनले कसैका लागि नदेखिने संक्रमणको ‘शकडाउन’ नबनोस भन्नेका सरकार र सम्बन्धीत सरोकारवाला चनाखो रहनुपर्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा सरकारले सकेसम्मको सावधानी र प्रयास गरिरहेको बताउनुहुन्छ । तर दोस्रो चरणको लक सकिन लाग्दाको अवस्थामा त्यो पहलले सही बाटो लिन्छ भन्नेमा पनि शंका उब्जेको छ । 
यद्धपी यसअघि नै सरकारले लक डाउनका समयमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने भन्ने निर्णय पनि गरेको छ । तथापी हिडेरै एक स्थानीयबाट अर्को स्थानीय तह हुँदै अर्को शहर र एकबाट अर्को प्रदेश जानेको लर्को रोकिएको छैन् । 

स्वयं सरकारी निकायकै विभिन्न निकायका व्यक्तिहरुको आवतजावत रोकिएको छैन । सरकारी कामकाजमा खटिएका व्यक्ति सबै एउटै स्थानीय तहमा बसोबास गर्दैनन् । सञ्चारकर्मी, प्रहरी, अत्यावश्यक सामग्रीको व्यापारी, स्वास्थ्यकर्मी सबै त्यसरी नै एकदेखि अर्को स्थानीय तहहुँदै आफ्नो गन्तव्यमा पुग्ने गरिरहेका छन् । त्यसैले सरकारले भन्दैमा एक स्थानीय तहबाट अर्कोमा जान नपाउने खालको निर्णय पूर्ण रुपले कार्यान्वयन हुने देखिन्न । कसरी यस निर्णयलाई कडाइ गर्ने भन्ने बारेमा थप निर्णय भएका छैनन् । 

आजै पनि सरकारले लक डाउन थप्ने बिषयमा छलफल गर्न मन्त्री परिषदको बैठक डाकेको छ । आइतबार उच्चस्तरीय समितिको बैठकमा छलफल भए अनुसार मन्त्री परिषदमा पनि लक डाउन बढाउने वा अन्य उपाय अपनाउने भन्ने सवालमा वृहत छलफल हुने जनाइएको छ । 

उच्च स्रोतका अनुसार संक्रमण फैलिनबाट रोक्नका लागि लकडाउन लम्ब्याउने योजना सरकारको रहेको बुझिएको छ । कम्तिमा एक सातासम्म लम्बिन सक्ने लक डाउनको अवधिमा भएभरमा संक्रमित पत्ता लगाउने उपाय पनि सँगसँगै सरकारले ल्याउनुपर्छ । नत्र लक डाउनमा खुम्चिएको संक्रमण खुल्नासाथै प्राणघातक माहामारीमा परिणत हुन बेर लाग्दैन । 

तर बढाउँदा कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा यसअघिको उच्चस्तरीय बैठक र मन्त्रीपरिषद्को आजको बैठकमा ध्यान दिन जरुरी हुन्छ । सुदुरपश्चिमबाट समुदायमा सरेको कोरोना संक्रमणले त्यहाँका बासिन्दामा एक खालको त्रास पैदा भैसकेको अवस्था छ । जसका कारण त्यहाँको सरकारले तत्काल लक डाउन लम्ब्याउन माग समेत गरेको छ  । तर उसले पनि स्थानीय तहमा थप फैलन नदिन के गर्ने भन्ने सवालमा योजना बनाउन सकेको देखिंदैन । 

यसअघि सरकारले देशव्यापी रुपमा ११ चैतदेखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यो बेलासम्म जम्मा दुईजनामात्र संक्रमित थिए । त्यसपछि पनि संक्रमति भेटिने क्रम नरोकिएपछि फेरि थप एकसाता लकडाउनको अवधि थपिएको थियो । पछिल्लो लकडाउनको अवधि मंगलबार चैत २५ गते १२ बजेसम्म रहेको छ । हालसम्म नेपालमा नौ जनामा संक्रमण भेटिएको छ ।