कोरोनासँग जुधेर खाना, माटो र प्रकृति सपार्ने तिर केन्द्रीत बनौं

जैविक नेपाल अभियानका संयोजक स्वनाम साथीको सुझाव

सोमबार, २४ चैत्र २०७६, १० : ११
कोरोनासँग जुधेर खाना, माटो र प्रकृति सपार्ने तिर केन्द्रीत बनौं

काठमाडौं । वामपन्थी कम्युनिष्ट नेता स्वनाम साथीले कोरोना महामारीलाई नेपाल जस्ता देशले महामारीसँग जुधेर यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । त्यसका लागि उनी लगायतको एउटा समुहले जैविक नेपाल अभियानको शुरुआत गरेको छ । 

यो समुहले आधुनिक विकासको नाममा यो धर्ती नै थर्काउने, चन्द्रमामा बस्ति बसाउने सपना बोकेका वैज्ञानिक, विकासे र यिनका सारथी महापुरुषहरुको मनमा अहिले सामान्य आँखाले देख्न नसकिने अति सूक्ष्म जीवतत्व नयाँ भनिएको कोभिड १९ नाम दिइएको भाइरस कोरोनाले सबैका मुटुमा ढ्याङ्ग्रो ठोकेको भन्दै प्रकृतिको विनास र मानवीय मूुल्य मान्यताका सीमाहरुको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले विश्वमा भोगबिलास, भोक र रोगको आहालमा बस्न र यसैमा रमाउने मानसिकतासँगै बाच्न बाध्य बनाएको निश्र्कष निकालेको छ ।

नेपालको विविधतायुक्त प्रकृति र यसको संभार गर्न सक्षम परम्परागत मान्यताहरु र स्थानीय ज्ञानका आधारमा जीवन जिउने कलाको सस्कृतिलाई तिरस्कार गरी विकासे बन्ने दौडमा सामेल हुँदा हामी पछौटेमा गणना हुन पुगेका यो समुहले निश्र्कष निकालेको छ ।  जैविक नेपाल खाना, माटो र प्रकृति जोगाउन शुरु गर्न पनि अपिल गरेका छन् । यसमा सरकार, नागरिक समाज र समाजका सबै तह र तप्काका अगुवाहरुको उचित ध्यान  पुग्नुपर्ने बताएका छन् ।

अहिले सरकारले लकडाउनको घोषणा गरेको छ यो तरिका बाह्य आक्रमणबाट जोगिने मानव सभ्यता विकासको अहिलेसम्मकै उत्कृष्ट तरिका भएको भन्दै  प्रतिरोध क्षमता नभएका मानिसमा कोरोनाको जोखिम बढि रहेकोले उनीहरुलाई विशेष ख्याल गर्नुपर्ने संयोजक स्वनाम साथीले वताएका छन् ।  ‘डरमुक्त विचार, आहार र नियमित अभ्यासले मात्र पनि यो क्षमता धेरै बढ्छ । सके सम्म आफै खेती गरौ । यस्तो आहारको बन्दोबस्त गर्ने किसानको आत्मसम्मान बढाउन खाना, माटो र प्रकृति सपार्ने नियतबाट बनाउन सुरु गरौ,’ उनले अपिल गरेका छन् ।

कोरोना एउटा संयोग मात्र भए पनि यसबाट सिक्न र अगाडी बढ्न सक्नुपर्ने उनको भनाई छ । उनले भने,–‘महामारी फैलिन नदिन विवेकले काम गरौ । बरु, प्रकृति, प्रविधि र मानवीय प्रवृत्तिमा आएको फेरबदल आत्मसात गर्दै यो सच्याएर हाम्रो समाजका छेउ परेका मानिसको आत्मसम्मान बढाउन सार्थक पहल गरौ । आजसम्म विज्ञानले थाहा पाएको ज्ञानको विवेक पूर्वक उपयोग गरौ ।’ 

उनले कमसे कम लकडाउनको अवधीभर शारीरिक सक्रियता, योग ध्यान सहित पत्रु खाना बन्देज गरि जैविक आहार बिहारमा रहने कोसिस गर्ने र त्यसका लागि खेती शारीरिक मानसिक तन्दुरुस्ती ल्याउने सबै भन्दा उत्पादनशील उपाय भएको बताए । ‘यो लकडाउनको बेला सबैभन्दा प्रभावित स्वदेश तथा विदेशमा श्रम बेच्न बाध्य श्रमजीवी समुदाय हुन् । उनीहरु कोरोनाको कारण भन्दा पनि खानेकुरा, बास र वातावरण नभएर ज्यान गुमाउने जोखिममा परेका छन् ।

उनीहरुको उचित ख्याल गरौ,’ जैविक नेपालका तर्फबाट एउटा सार्वजनिक अपिल समेत जारी गदै उनले भने,–‘स्थानीय तहमै खानेकुरा उत्पादन नहुदाको अप्ठेरो यस्तै बेला महसुस गर्न बाध्य छौ । यो बन्दाबन्दीको पछिसम्म प्रभाव पर्न नदिन अहिले नै सचेततापूर्वक कृषि उत्पादनको वितरण प्रणालीमा सुधार गर्ने प्रयत्न गरौ ।’
 

प्रतिक्रिया दिनुहोस