लकडाउनले कर्णाली प्रदेशमा हरियो तरकारीको हाहाकार

सोमबार, २४ चैत्र २०७६, ०८ : ४७
लकडाउनले कर्णाली प्रदेशमा हरियो तरकारीको हाहाकार

बाँके। लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।

तरकारी आउँदैन

हुम्लाका अधिकांश बासिन्दाले तरकारी खान छाडेको समाचार पठाउनुभएको छ । हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन् ।


सिमकोट बजारकी स्थानीय मधु शाहीले बाहिरबाट आयात हुने तरकारी पाउन छाडेपछि अहिले तरकारी खान छाडेको बताउनुभयो । बजारमा तरकारी पाइन छाडेपछि अधिकांशले सिस्नु, बेथे र फापरको साग टिपेर तरकारीका रूपमा काम चलाउने गरेका छन् ।

स्थानीय नन्दकुमार सिंहको भान्सामा तरकारी पाक्न छाडेको नौ दिन भयो । हुम्ला उद्योग वाणिज्य सङ्घका सचिव रवीनकुमार बस्नेतले तरकारीका लागि मङ्सिरदेखि वैशाखसम्म नेपालगन्ज र सुर्खेतबाट आउने तरकारीमै भर पर्नुपर्र्ने बाध्यता रहेको बताउँदै तरकारी आयातका लागि खुकुलो व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

तरकारी हारालुछ

जाजरकोटमा लकडाउन भएसँगै बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् । तरकारीका थोक व्यापारी दीपक खत्रीले गाउँबाट किसानहरूले तरकारी ल्याउन छाडेको बताउनुभयो ।

बजारमा हरियो तरकारी देखिनासाथ हारालुछ हुने गरेको छ । भेरी नगरपालिका–४ का महेश चौधरीले हरियो तरकारी खान नपाएको गुनासोे गर्नुभयो । भेरी नगरपालिका–३ का शिवप्रसाद शर्माले तरकारीको मूल्य चार गुणाले बढेपछि तरकारी खान छोडेको बताउनुभयो ।

काम चलाइँदै छ

जुम्लामा स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेको रिपोर्टिङ गर्नुभएको छ । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन् । अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ ।

चन्दननाथ नगरपालिका–४ का सुलोचना हितानले भनेजस्तो हरियो तरकारी बजारमा नपाइने भएकाले अहिले आफ्नै बारीको सागपातमै जोड दिएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रजब अलि मनियारले बाहिरबाट आउने तरकारी केही महँगिएको बताउनुभयो ।

तरकारीको चिन्ता

सल्यानको बजारमा हरियो तरकारी पाउनै छाडेको समाचार पठाउनुभएको छ । शारदा नगरपालिका–२ खलङ्गाकी गोमा अधिकारीले तरकारी के पकाउने भन्ने चिन्ता थपिएको बताउनुभयो । होटल सञ्चालक पूर्णिमा प्रधानले तरकारीको अभाव निकै झेल्नुपरेको सुनाउनुभयो । श्रीनगर बजारका तरकारी व्यापारी डिल्ली बुढाले गाउँबाट तरकारी आउन छाडेकाले एक हप्तादेखि पसल बन्द गर्नुपरेको बताउनुभयो । कपुरकोट तरकारी उपज सङ्कलन केन्द्रका सचिव तिलक शर्माले अलिअलि आएको तरकारी पनि महँगो हुनाले उपभोक्ताले किन्न छाडेको बताउनुभयो ।

आलु र बन्दा

कालीकोट र मान्ममा हरियो तरकारी खान नपाउने अवस्था सिर्जना भएको छ । व्यापारी धनलाल अधिकारीले चार दिनयता आलु, बन्दा र लसुनका पातमात्र खान पाएको बताउनुभयो । स्थानीय मथुरा विष्टले तरकारी नपाएर दालसँग खाना खाने गरेको बताउनुभयो ।

तरकारी व्यवसायी गोमा आचार्यले लकडाउनका कारण तरकारी आउन छाडेको बताउनुभयो । अर्का तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तरकारीको खपत नहुने भएकाले तरकारी नल्याएको बताउनुभयो ।

काम चलाउन सिन्की

यस्तै सुर्खेतमा लकडाउनपछि तरकारीको आयात कम भएको छ । उपलब्ध तरकारीको मूल्य चर्को छ । वीरेन्द्रनगर–५ कालिका मन्दिरकी अमृता नेपालीले बजारमा तरकारी पाए पनि आर्थिक समस्या पर्दै गएपछि किन्न छाडेको बताउँदै सिन्कीले काम चलाउने गरेको बताउनुभयो ।

बुलबुले कृषि बजार वीरेन्द्रनगरका अध्यक्ष प्रबल शाहीले बाहिरबाट तरकारी आयात कम भएको बताउनुभयो । उहाँले घरबाट बाहिर निस्किन निषेध गरेकाले तरकारीको व्यापार पनि घटेको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।