भारतको मुम्बई कोरोनाको कहरमा ३० को मृत्यु, ४ सय ३३ संक्रमित

आइतबार, २३ चैत्र २०७६, २२ : २०
भारतको मुम्बई कोरोनाको कहरमा ३० को मृत्यु, ४ सय ३३ संक्रमित

एजेन्सी । कोरोना भाइरसले विश्वभरि नै महमारीको रुप लिईरहदा छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण तिब्र भएको छ । त्यसमा पनि भारतको मुख्य  आर्थिक नगरी मुम्बइ शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् ।

भारतिय संचार माध्यमका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ । यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन् । देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन् ।

त्यस्तै मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना चिकित्स समेत सामेल छन् । भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

देशमा कोभिड १९ को महामारी बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पूर्वराष्ट्रपति प्रणव मुखर्जी र प्रतिभा पाटिल तथा दुई पूर्वप्रधानमन्त्री मनमोहन सिंह र एचडी देवेगौडासँग फोन संवाद गरेका छन् । त्यस्तै, सोनिया गान्धी, मुलायम सिंह यादव, अखिलेश यादव, ममता बनर्जी, नवीन पटनायक, के चन्द्र शेखर राव लगायत नेताहरुसँग पनि मोदीले छलफल गरेको दैनिक भास्करले जनाएको छ ।

कोरोनाको संक्रमणबाट लड्न भारतिय प्रधानमन्त्रीले जनता कफ्र्यु, स्वास्थ्यकर्मीको सम्मानमा थाल ठटाउने, र आईतबार राति ९ बजे ९ मिनेट बिजुलीबत्ती बन्द गरेर दियोबत्ती बाल्ने लगायतका आव्हान गरेका थिए । जसमा भारतका सबै नागरिकले यसमा सहभागी समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस