कोरोना भाइरस

बागमती प्रदेशमा कोरोनाविरुद्धको तयारी : कुन जिल्लामा कति आइसोलेसन र आईसीयू ?

आइतबार, २३ चैत्र २०७६, १२ : २२
बागमती प्रदेशमा कोरोनाविरुद्धको तयारी : कुन जिल्लामा कति आइसोलेसन र आईसीयू ?

साङ्केतिक फोटो

- सूर्यप्रकाश कँडेल

चितवन । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न बागमती प्रदेशले तीन खालको तयारी गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेकोले बागमती प्रदेशले यस्तो तयारी गरेको हो ।

पहिलो तयारी अन्तर्गत बन्दाबन्दी (लकडाउन) लाई प्रभावकारी बनाइएको, दोस्रो तयारी अन्तर्गत कोरोना परीक्षणको लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको र तेस्रो तयारी अन्तर्गत संक्रमितको उपचारको लागि आइसोलेसन शैयाको व्यवस्थापन गरिएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । कोरोना संक्रमितको उपचारका लागि औषधि वा खोप नभएकोले रोकथाम र नियन्त्रणमा जोड दिइएको मन्त्री दुलालले बताए ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीका अनुसार प्रदेश अन्तर्गतका १३ जिल्लामा कूल चार सय ६२ वटा आईसीयू शैया, आठ सय ४२ वटा आइसोलेसन शैया र दुई हजार आठ सय ५७ शैया क्वारेन्टाइनका लागि तयारी अवस्थामा रहेका छन् । प्रदेशभर थप ६१ आईसीयू शैया, दुई सय ४५ आइसोलेसन शैया र एक हजार एक सय ७० क्वारेन्टाइन शैया तयारीको क्रममा रहेका छन् । हालसम्म क्वारेन्टाइनमा उपचारका लागि ६ सय ९८ जना बसिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइसोलेसन र आईसीयू शैया

काठमाडौँ जिल्लामा एक सय २१ आईसीयू शैया तयारी अवस्थामा र २१ शैया तयारीको क्रममा रहेका छन् । आइसोलेसनका लागि तयारी शैया एक सय ७९ र तयारीको क्रममा रहेका शैया ५८ वटा छन् । तयारी अवस्थामा रहेका क्वारेन्टाइन शैया दुई सय चार, तयारीको क्रममा रहेका ६५ वटा छन् । काठमाडौँमा उपचारका लागि तीन जना क्वारेन्टाइनमा बसेका छन् ।
तयारी अवस्थामा रहेका आईसीयू शैया ललितपुरमा एक सय तीन, भक्तपुरमा ३५, चितवनमा एक सय ९६, मकवानपुरमा चार र काभ्रेमा तीन वटा रहेका छन् । थप आईसीयू शैया भक्तपुरमा २० र चितवनमा २० वटा तयारीको क्रममा छन् । 

आइसोलेसन शैया ललितपुरमा एक सय २२, भक्तपुरमा ९१, रसुवामा ५२, नुवाकोटमा १६, धादिङमा ६, चितवनमा एक सय ८०, सिन्धुलीमा २९, मकवानपुरमा ३०, रामेछापमा २९, दोलखामा ५५, काभ्रेमा १० र सिन्धुपाल्चोकमा ४३ वटा तयारी अवस्थामा छन् । थप आइसोलेसन शैया ललितपुरमा पाँच, भक्तपुरमा २०, धादिङमा १०, चितवनमा एक सय ४३, दोलखामा तीन र सिन्धुपाल्चोकमा ६ वटा तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तयारी अवस्थामा रहेका क्वारेन्टाइन शैया ललितपुरमा एक सय सात, भक्तपुरमा दुई सय ५३, रसुवामा दुई सय ६, नुवाकोटमा दुई सय २६, धादिङमा चार सय ६४, चितवनमा दुई सय ९३, सिन्धुलीमा एक सय ६६, मकवानपुरमा एक सय ९६, रामेछापमा दुई सय ६३, दोलखामा एक सय १८, काभ्रेमा एक सय ४८ र सिन्धुपाल्चोकमा दुई सय १३ वटा रहेका छन् । थप क्वारेन्टाइन शैया भक्तपुरमा ५०, धादिङमा ५०, चितवनमा तीन सय २१, मकवानपुरमा ९८, काभ्रेमा दुई सय ५४ र सिन्धुपाल्चोकमा तीन सय ३२ वटा तयारीको क्रममा छन् ।

उपचारको क्रममा क्वारेन्टाइनमा बसेका व्यक्ति हालसम्म ललितपुरमा पाँच, भक्तपुरमा ९६, नुवाकोटमा १६, धादिङमा ६८, चितवनमा चार सय ७९, मकवानपुरमा ६, रामेछापमा १०, काभ्रेमा आठ र सिन्धुपाल्चोकमा सात जना पुगेका छन् ।