तीन सातामा एक हजार २० जना विदेशबाट फर्किए

विहीबार, २० चैत्र २०७६, ०८ : ३३
तीन सातामा एक हजार २० जना विदेशबाट फर्किए

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।

ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ ।

उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस