आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

रासस

बुधबार, १९ चैत्र २०७६, १७ : २१
आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो । 

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे दुई हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ । घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको बताउनुभयो । 

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । सरकारले कोरोना भाइरस फैलिन नदिन यही चैत ११ गतेदेखि चैत २५ गतेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।