लकडाउनभर गरिबलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

आइतबार, १६ चैत्र २०७६, १२ : ११
लकडाउनभर गरिबलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

File Photo

जनकपुर । प्रदेश नम्बर २ सरकारले लकडाउनभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । 

आईतबार बसेको मन्त्री परिषदको बैठकबाट लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारले व्यवस्था गर्न लागेको छ । यसको व्यवस्थापन स्थानीय तहसंग समन्वय गरेर तत्कालको लागि बिरगंज महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २०  लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जानकारी दिए । 

यसका लागी प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरि कार्यविधि बनाइएको छ ।
यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ । 

सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलिय बैठकले समेत बोलाएको थियो । 

सर्बदलिय बैठकमा मुख्यमन्त्री लालबाबु राउत सहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका संसद शत्रुधन महतो, संसद किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस