चीनबाट आएको स्वास्थ्य सामग्री सबै प्रदेशमा बाँडिने

सात ओटै प्रदेशका मुख्यमन्त्रीलाई आवश्यक परिणाममा उपलब्ध गराइने

आइतबार, १६ चैत्र २०७६, ११ : ५५
चीनबाट आएको स्वास्थ्य सामग्री सबै प्रदेशमा बाँडिने

काठमाडौं । चीनले सहयोग गरेको र केही नेपाल सरकारले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आईपुगेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण पहिचान तथा उपचारका लागि १३ टन आवश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको जाहाज आज विहान ५ बजेर ४० मिनेटमा काठमाडौं आईपुगेको हो ।  औषधी र उपकरण लिन वायु सेवा निगमको जहाज हिजो त्यसतर्फ प्रस्थान गरेको थियो ।  नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज आइतबार बिहानै १३ टन स्वास्थ्य सामग्री बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल ओर्लिएको सरकारले पुष्टि गरेको छ ।

स्वास्थ्य सामग्रीमा कोरोना परीक्षण किट, पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार, जहाजबाट एन ९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्माेमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायतका सामग्री ल्याइएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, अब ति सामाग्रीहरु आवश्यकता अनुसार सात ओटै प्रदेशमा वितरण गरिनेछ । कोेविड १९ रोकथाम र नियन्त्रणका लागि बनाईएको उच्चस्तरीय समितिको निर्णय अनुसार अब ती स्वास्थ्य सामग्री सात ओटै प्रदेशका मुख्यमन्त्रीलाई आवश्यक परिणाममा उपलब्ध गराइनेछ , प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस