कोरोना रोकथाम कोषमा गायक सपूतको दुई लाख सहयोग

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०७ : ३५
कोरोना  रोकथाम कोषमा गायक सपूतको दुई लाख सहयोग

काठमाडौं । गायक प्रकाश सपुतले कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा २ लाख रुपैयाँ सहयोग पठाएका छन् । बागलुङमा रहेका गायक सपुतले सो रकमको चेकलाई कोषमा जम्मा गरिदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई चेक हस्तान्तरण गरेका छन् ।

गायनसँगै अभिनयमा समेत उत्रिएका गायक सपुत तीन साता यताबाट चलचित्र परदेशी २ को छायांकनमा थिए । सरकारले कोरोना भाइरसको संक्रमणका कारण २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्देशन गत बिहीबार दिएपछि शुक्रबार चलचित्र परदेशी २ को छायांकन स्थगित गरियो ।

त्यसपछि कोरोनाबाट बच्न शनिबार बागलुङ धम्जाको आफ्नै निवास पुगेको उनले बताएका छन् । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम गर्न ५० करोड रुपैयाँबराबरको कोष स्थापना गरेको छ ।
कोष स्थापना भएपछि गायक प्रकाश सपुतले सोमबार प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै २ लाख रुपैयाँ सो कोषका लागि पत्रकारमार्फत उपलब्ध गराएको घोषणा गरेका छन् ।

गायक सपुतले प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालमार्फत एक पत्र लेख्दै कोरोना भाइरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासको प्रशंसा गरेका छन् । आफू यतिबेला सेल्फ क्वारेन्टाइनमा बसेको जनाउँदै उनले लेखेका छन्, ‘सरकारकै निर्देशनलाई पालना गर्दै सबै काम धन्दा छोडेर भीडभाड कम हुने र बस्ती अलि पातलो भएको आफ्नै गाउँको घरमा आएर सेल्फी क्वारेन्टाइनमा बसेका छौं । दसैंमा नजुट्ने हाम्रो परिवार यसपालि घरभरि भएका छौं ।’

उनले पत्रमा लेखेका छन्, ‘एउटा जम्मिेवार नागरिकका हैसियतले यो रकम यो विषम परिस्थितिका निमित्त सहयोग गर्न चाहन्छु । कहाँ, कसको नाममा दिने निधो नभएपछि रकम लेखेर हस्ताक्षर गरेको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको रोहवरमा महासंघको कार्यलय बागलुङमा पठाएको छु । यो रकम सरकारकै मातहतमा जहाँ चलाए पनि हुन्छ ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस