काठमाडौं । कोरोना भाइरस संक्रमण (कोविद १९) रोकथाम र नियन्त्रणका लागि सरकारले आज देखि अन्तराष्ट्रिय सीमा सिल गरेको छ भने लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा पनि रोक लगाएको छ । उत्तरी छिमेकी मुलुक चीन तर्फका दुइवटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका सञ्चालनमा थिए । अब आज बिहान १० वजेवाट सरकारले यी सबै नाका बन्द गर्न लागेको छ ।
चैत १६ गते मध्यरातसम्मका लागि अहिले यी नाका बन्द गर्न लागिएको हो । त्यसपछिको अवस्था हेरेर नाका खोल्ने नखोल्ने बारेमा सरकारले थप निर्णय लिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका मुलुकमा कोरोना संक्रमितहरू बढ्दै गएको देखिन्छ ।
एउटा देशमा भएको संक्रमण अर्को देशमा नसरोस् भन्नका लागि एकले अर्कालाई सहयोग गर्नुपर्ने भएको छ । धेरै व्यक्तिको आउजाउले संक्रमण फैलिने सम्भावना हुनाले सीमाका सबै नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय गरेका हौं,’ मन्त्री खतिवडाले भने ।
तर ढुवानीका लागि भने नाका खुल्ला रहनेछन् । अत्यावश्यक सामाग्रीहरुको ढुवानीका लागि मात्र नाका खोलिने र यात्रुहरुका लागि भने वन्द गर्ने निर्णय लिईएको उनको भनाई छ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकवाट यस्तो निर्णय लिएको हो । सीमा क्षेत्रबाट हुलका हुल नेपालीहरुको नेपाल प्रवेश पछि कोरोनाको जेखिम बढेको भन्दै तत्काल सीमा नाका बन्द गर्न सरकारलाई दबाब परेको थियो । सरकारले भने दुबै देशको उच्चस्तरमा वार्ता गरेर संयुक्त रुपमा सीमा बन्द गर्न चाहेको थियो । तर भारतले यसमा खास चासो नदिईहालेपछि नेपालले एकतर्फी रुपमा आफनो तर्फबाट नाका बन्दको निर्णय लिएको हो ।
सार्वजनिक यातायात पनि आजैबाट लामो दुरीका बन्द गरिएका छन् । एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरी त्यस्ता सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएको हो । निजी सवारी साधनले लामो दुरीका यात्रु बोकेर यातायात सञ्चालन गरेमा उसलाई पनि कारवाही गर्ने सरकारले जनाएको छ ।
२१ गते सम्मका लागि लामो दुरीका सार्वजनिक सवारी साधन पनि बन्द हुदैछन् । सरकारले १८ चैत सम्मका लागि अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने घोषणा यस अगाडी नै गरिसकेको थियो । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नै १८ चैत सम्मका लागि अन्तराष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेका थिए ।
सीमा नाका बन्द, लामो दुरीका सवारी साधनमा रोक र अन्तराष्ट्रिय उडानहरु बन्दको घोषणा गरेपछि नेपाल एक प्रकारले लकडाउनको अवस्थामा पुगेको छ । आन्तरिक उडानलाई भने सरकारले अहिले नै बन्दको घोषणा भने गरेको छैन ।
कतिपय जिल्लाले आफ्नो निर्णयका आधारमा पनि आवागमनमा रोक लगाउने काम गरेको छ । गण्डकी प्रदेशले आफनो प्रदेशलाई लक डाउन गर्ने तयारी गरेको छ । यसका लागि मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले आजै पत्रकार सम्मेलनमार्फत प्रदेशको सुरक्षा कवजका बारेमा घोषणा गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस