कोरोनाको त्राससंगै गुल्मीमा चोरको आतंक

पत्रपत्रिकाबाट

सोमबार, १० चैत्र २०७६, ०८ : २७
कोरोनाको त्राससंगै गुल्मीमा चोरको आतंक

गुल्मी । गुल्मीमा कोरोनाको त्राससंगै चोरीको त्रास पनि बढेको छ । पछिल्ला दुई दिनमा मात्रै जिल्लाको धुर्कोट गाउँपालिकाका विभिन्न स्थानका २३ पसलमा चोरी भएको छ ।  शनिबार राति सामुदायिक रेडियो धुर्कोट सहित १४ पसलहरुमा तोडफोड तथा चोरी भएको हो ।

अज्ञात समुहले धुर्कोट गाउँपालिका ४ जैसीथोक स्थित रेडियो धुर्कोट र १३ वटा पसल तथा वडा ६ रजस्थलको एउटा पसलमा चोरी गरेको स्थानीयले बताए ।  रेडियोको ताला फोडिएको भए पनि अन्य क्षति नभएको रेडियो संचालक समिति सचिव कृष्ण केसीले बताए । तर संचारमाध्यमकै ताला फोरिनुले आफुहरु असुरक्षित भएको महसुस भएको केसीको भनाई छ । 

पसलहरुमा पनि ठुलो क्षति छैन् । अधिकांश पसलहरुका ताला तोडिएको छ । गोलपोखरीस्थित बसन्त विकको पसलबाट कानमा लगाउने मुन्द्री र घाँटीमा लगाउने जन्तर चोरी भएको स्थानीय स्वास्थ्यकर्मी अर्जुन भण्डारीले बताए ।  सोही ठाउँका लालबहादुर थापाको गल्ला तथा किराना पसलबाट नगद १० हजार तथा केही गल्ला सामग्री लगेका छन् । अधिकांश पसलहरुमा घर्रामा रहेको २० हजारसम्मको नगद, रिचार्ज कार्ड, केही गहना र अन्य गल्ला समान चोरी भएको वस्तु प्रहरी चौकीका प्रमुख लोकमान ताम्राकारले जानकारी दिए । 

शुक्रबार धुर्कोट गाउँपालिका १ नयाँगाउँमा पनि वडा कार्यालयको ताला फोडनुको साथै ९ वटा पसलहरुमा चोरी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको ताम्राकारले जानकारी दिए । 

नागरिकलाई कोरोना संक्रमणको त्राससंगै चोरीको चिन्ता थपिएकाले प्रहरी र प्रशासनमा पनि खबर भइसकेको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।  उनले चोरीको प्रकृति देखेर आफु पनि अचम्म परेकाले गाउँकै केही युवाहरुको संलग्नतामा बद्मासी भएकाले प्रहरीलाई गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरे । चोरी गर्ने समुहले प्रत्येक रात गाउँ फेर्ने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ