कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि गड्डाचौकीमा सेना सक्रिय

आइतबार, ०९ चैत्र २०७६, २० : ०२
कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि गड्डाचौकीमा सेना सक्रिय

file photo

भीमदत्तनगर । तीन दिनयता कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको २५ बाहिनीले तीन दिनदेखि निरन्तर पश्चिम नाका गड्डाचौकीमा कोराना भाइरस संक्रमणको जोखिम न्युनीकरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितका अनुसार गड्डाचौकी नाकामा सेनाले भारतका विभिन्न स्थानबाट मजदुरी गरेर स्वदेश फर्किने नेपाली नागरिकको स्वास्थ्य परीक्षण प्रभावकारीरुपमा गरिरहेको छ । सीमा नाकामा शुक्रबारयता हालसम्म करिब २० हजार नागरिकको स्वास्थ्य परीक्षण गरिएका छ ।

“शुक्रबारदेखि नै हामीले टेन्टको अस्थायी क्याम्प र आवश्यक घेरबार बनाएर स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनायौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षणमा अन्य निकायबाट खटिएका स्वास्थ्यकर्मीको पनि ठूलो भूमिका छ ।”

उहाँले ज्वरो बढी देखिएकालाई सैनिक चिकित्सककै निगरानीमा गड्डाचौकीमै पुनःस्वास्थ्य परीक्षण गर्ने गरिएको बताउँदै थप आशंका देखिए महाकाली अस्पताल पठाउने प्रवन्ध मिलाइएको बताउनुभयो । “अहिलेसम्म बढी ज्वरो आएका दुई जना मात्रै महाकाली अस्पताल पठाएका छौँ ।” उहाँले भन्नुभयो–“गर्मीमा लाइनबस्दा, हिडेर थकित भएर आएकाले पनि ज्वरो बढी देखिन सक्छ ।”

सहायकरथीका अनुसार सेनाको सैनिक चिकित्सकसहित टोली स्वास्थ्य परीक्षणमा खटिएको छ भने बाहिनी र गुल्मको टोली अन्य व्यवस्थापकीय भूमिकामा देखिएको छ । गड्डाचौकीका स्थानीयबासीले सेना स्वास्थ्य परीक्षणमा खटिएकाले आफूहरुलाई जोखिम न्युनीकरणको भरोसा जागेको प्रतिक्रिया दिएका छन् ।

“मान्छेको चाप बढी हुने भएकाले गड्डाचौकीमा केही समस्या जस्तो देखियो”, बाहिनीपति सहायकरथी पण्डितले भन्नुभयो, “थप व्यवस्थित बनाउन स्थानीय प्रशासन र स्थानीय सरकारसित सहकार्य गरिरहेका छौँ ।” उहाँले सर्वसुलभ रुपमा सेना यात्रुहरुको व्यवस्थापनमा लागि परेको बताउनुभयो ।

सेनाले शनिबार गड्डाचौकी नाकाको स्थलगत अनुगमनका लागि पुग्नु भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत स्वास्थ्य परीक्षणको अवस्था, व्यवस्थापकीय कठिनाई लगायतका विषयमा जानकारी गराएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस